भारतसँग सीमा जोडिएका मधेसका हजार बढी मतदानस्थल अतिसंवेदनशील

भारतसँग सीमा जोडिएका मधेसका हजार बढी मतदानस्थल अतिसंवेदनशील

जनकपुरधाम : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको छ। मधेसमा  दुई हजार १६० मतदानस्थल रहेका छन्। प्रहरीले भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा रहेका मतदानस्थलको सुरक्षाका लागि अनुगमनसहित रणनीति बनाइएको बताए।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेकामध्ये ७ सय ५५ मतदानस्थल संवेदनशील र १ सय ५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइयो।

प्रहरीका अनुसार सप्तरी जिल्लाका अधिकांश मतदानस्थलहरु अतिसंवेदनशील सूचीमा छन्। सप्तरीमा २ सय ९६ मतदानस्थल रहेकोमा २ सय ९ वटा अतिसंवेदनशील सूचीमा छन्। धनुषामा १ सय ९४, महोत्तरीमा १ सय ६३, सर्लाहीमा १ सय ५८, सिराहामा १ सय ५४, रौतहटमा १ सय ५२ र बारा जिल्लामा १ सय ४५ मतदानस्थल अतिसंवेदनशील  सूचीमा छन्।

मधेस प्रदेशमा कुल चार हजार ४ सय ७१ मतदान केन्द्र छन्। मधेसमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन्। प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन्। 

माघ १५, २०८२ बिहीबार १८:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।