समर्पणबाट राष्ट्रियताको रक्षा हुँदैन, प्रतिवाद गर्नुपर्छ : केपी ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोसरूपमा उपलब्धि हासिल गर्न सक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताए।
पार्टीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्र तयारी गरिरहेको उनको भनाइ थियो। ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।
उनले पार्टी सुदृढ सङ्गठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनः निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए।
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै ओलीले यसको रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताए।
माघ १५, २०८२ बिहीबार १८:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।