सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने ३ अर्बको वृद्धि
काठमाडौं : सेयर कारोबार परिसूचक नेप्से बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ। अघिल्लो दिन ५ अङ्कले बढेको बजार बिहीबार १७.५३ अङ्क (०.६४ प्रतिशत) ले घटेर २ हजार ७ सय १४ दशमलव ०५ विन्दुमा कायम भएको छ।
परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भयो। बुधबार ११ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९ सय ३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँमा कारोबार भयो। यो अघिल्लो दिनको तुलनामा करिब ३ अर्ब रुपैयाँले बढी हो।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, लगानी र सामूहिक लगानी कोष (म्युचुअल फन्ड) उपसमूह मात्र सकारात्मक रहे। बाँकी सबै १० वटा उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले गिरावट आयो।
बिहीबार कुल ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो। बिहीबार हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले वृद्धि भयो।
अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। बिहीबार कुल १ लाख ३८ हजार ८ सय ८३ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
माघ १५, २०८२ बिहीबार १६:३८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।