प्रधानमन्त्रीका उम्मेदवारबीच 'पब्लिक डिबेट' गर्न कांग्रेस तयार
काठमाडौं : नेपाली कांग्रेसले सार्वजनिक बहस (पब्लिक डिबेट)का लागि प्रधानमन्त्रीका उम्मेदवारलाई पठाउन तयार रहेको स्पष्ट पारेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक बहसका लागि कांग्रेस र उम्मेदवार गगन थापा पूर्ण रूपमा तयार रहेको बताएका छन्।
आगामी नेतृत्वका लागि प्रधानमन्त्रीका उम्मेदवारको योग्यता र क्षमतामाथि खुला बहस गर्नुपर्ने प्रस्ताव सकारात्मक रहेको उनको भनाई थियो। पृष्ठभूमि, भिजन र कार्यक्षमताका आधारमा कांग्रेसले प्रधानमन्त्रीका उम्मेदवार प्रस्ताव गरेको शर्माको दाबी छ।
अबको नेतृत्व 'भिजन' र 'एजेन्डा'को कसीमा जाँचिनुपर्ने उनको भनाई छ। शर्माले कांग्रेस आफ्ना उम्मेदवारलाई सार्वजनिक मञ्चमा अन्य दलका उम्मेदवारसँग बहसका लागि उतार्न तयार रहेको बताए। मिडियाले आयोजना गर्ने कार्यक्रमदेखि टुँडिखेल वा रंगशालाजस्ता खुला ठाउँमा गरिने बहसका लागि पनि कांग्रेस तयार रहेको उनको दाबी छ।
‘कुनै पनि व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा मात्र होइन, वडाध्यक्षका रूपमा हेर्नु छ भने पनि उसको पृष्ठभूमि, संस्कार, योग्यता, योगदान र भिजन के हो भनेर हेरिन्छ,’ शर्माले भने, ‘यी सबै कुराका लागि मिडियाका साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले बोलाउन चाहिरहनुभएको छ। नेपाली कांग्रेसको पार्टी तर्फबाट खुला टुँडिखेलमै राखेर बहस गर्दै गर्दा पनि रंगशालामा ठूलो स्टेज राखेर प्रधानमन्त्रीको उम्मेदवार खडा गर्नु परे पनि हामी पुरै ऊर्जाका साथ ऊर्जाका साथ प्रधानमन्त्रीका उम्मेदवारलाई अरू उम्मेदवारसँग बहसका लागि पठाउन तयार छौं।’
कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनमा अनुभव, उत्साह, संयम, परिपक्वता र प्रष्ट भिजन रहेको उनको जिकिर छ। सद्भाव, सुशासन र समुन्नतिका मुद्दाहरूलाई सुत्रिकरण गरेर 'टिम स्पिरिट' का साथ नेतृत्व गर्न सक्ने 'डाइनामिक' क्षमता थापासँग रहेको शर्माको दाबी छ।
"संयमका साथ, परिपक्कताका साथ सभापति गगन थापा प्रधानमन्त्रीको उम्मेदवार प्रस्तावित गर्दै हामी विश्वस्त छौं। हाम्रो उम्मेदवारसँग अनुभव पनि छ। उत्साह पनि छ। संयम पनि छ। परिपक्वता पनि छ। धैर्यता पनि छ। भिजन पनि छ," शर्माले भने।
माघ १५, २०८२ बिहीबार १५:४०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।