कलाकार लक्ष्मीनाथको हिजोका कुरा : फिल्म बनाउन खोज्दा पञ्चायतले थुन्यो, भिलेन बन्दा दर्शकले मुख छाडेर कठालै समाते

कलाकार लक्ष्मीनाथको हिजोका कुरा : फिल्म बनाउन खोज्दा पञ्चायतले थुन्यो, भिलेन बन्दा दर्शकले मुख छाडेर कठालै समाते

काठमाडौंको तारकेश्वर नगरपालिका निवासी कलाकार लक्ष्मीनाथ तिमिल्सेना उमेरले ५९ वर्ष पुगे। तर, उमेर जति पाको हुँदैछ, उनी कलाकारितामा उति नै सक्रिय बन्दै गइरहेका छन्।

पछिल्लो समय उनी अभिनित फिल्म ‘गोबर गणेश’ प्रदर्शन भइरहेको छ भने यसअघि उनले ‘सीता’, ‘मुक्ति’ लगायत दर्जनौं टेलिसिरियल तथा चलचित्रहरूमा अभिनय गरिसकेका छन्।

सात वर्षको कलिलो उमेरदेखि नै नाटकको मञ्चबाट कलाकारिता सुरू गरेका उनी २०३८ सालतिर चलचित्र निर्माणमा समेत होमिए। पञ्चायतकालमा तत्कालीन अञ्चलाधीशलाई नै प्रमुख अतिथि बनाएर ‘गाउँ र शहर’ नामक फिल्मको शुभ-मुहूर्त गराएका उनी सोही कारणले थुनिनुपर्यो।

पर्दामा नकारात्मक भूमिका निर्वाह गर्दा दर्शकले बाटोमै थुकेको र कठालो समातेर हिर्काउन खोजेको तीतो-मीठो अनुभव उनीसँग छ। ‘उकेरा’को नियमित कोलम ‘हिजोका कुरा’मा उनले आफ्ना पुराना दिन यसरी सम्झिए:

घरैमा कलाकारिताको माहोल
अहिलेको तारकेश्वर नगरपालिका वडा नं. ६, जसलाई पञ्चायतकालमा धर्मस्थली गाउँ पञ्चायत भनिन्थ्यो; त्यहीँ मेरो वि.सं. २०२३ सालमा जन्म भएको हो। म घरको जेठो छोरो हुँ, मभन्दा मुनि दुई भाइ र ४ दिदीबहिनी छन्।

मेरो प्रारम्भिक पढाइ घरबाटै सुरू भयो। हजुरबुबाहरूले घरमै स्वस्थानी, रुद्री जस्ता धार्मिक ग्रन्थहरू पढाउनुहुन्थ्यो। सात वर्षको उमेर भएपछि मात्र म धर्मस्थलीकै स्कुलमा भर्ना भएँ।

मैले थाहा पाउँदा मेरो ठूलोबुबा नाटककार हुनुहुन्थ्यो। उहाँ नाटक लेख्ने र अभिनय गर्ने गर्नुहुन्थ्यो। मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारहरू उहाँका नाटकमा खेल्थे। उहाँहरूले हाम्रै घरमा नाटकको ‘रिहर्सल’ (अभ्यास) गरेको अझै याद छ। पछिल्लो पुस्ताका उत्तम केसी लगायतका कलाकारहरूले पनि मेरो ठुलोबुबासँग अभिनय गरेका थिए।

मेरो बुबा भने गायनमा सिपालु हुनुहुन्थ्यो, विशेषगरी दोहोरी गीत गाउनमा उहाँको नाम थियो। सायद त्यसैको प्रभाव होला, मैले ७ वर्षकै उमेरमा स्कुलमा नाटक खेलेँ। नाटक के हो र अभिनय कसरी गर्ने भन्ने ज्ञान नहुँदै म रंगमञ्चमा प्रवेश गरिसकेको थिएँ।

टुपी पालेको बाहुन क्यारेक्टर
यो २०३० सालतिरको कुरा हो। धर्मस्थलीकै ग्रामसेवा माध्यमिक विद्यालयमा म लगायत गाउँका सबै केटाकेटी पढ्थ्यौँ। त्यतिबेला मसँग स्कुलको ड्रेस थिएन। स्कुलको पोशाक आकाशे रङको सर्ट र निलो पाइन्ट थियो। म व्रतबन्ध गरेको भोलिपल्टै कपाल खौरिएर, टुपी राखेर, दौरा-सुरुवाल लगाएरै स्कुल गएको थिएँ।

त्यहाँ नाटकका लागि टुपी पालेको ‘बाहुन’ चरित्र चाहिएको रहेछ। मलाई ठ्याक्कै त्यही भूमिका दिइयो। त्यो पात्रले मलाई कतिपयले हाँसोको पात्र बनाए भने कतिले राम्रो काम गरिस् पनि भने। नेवार समुदायको बस्ती छिचोल्दै स्कुल जाँदा बाटोमा धेरैले जिस्क्याउँथे।

बुबा, ठूलोबुबा र हजुरबुबाको नामबाट गाउँमा चिनिइसकेको म नाटकमा अभिनय गर्न थालेपछि थप परिचित भएँ। कसैले जिस्क्याउँदा सुरू-सुरूमा अलि-अलि हीनताबोध पनि हुन्थ्यो, तर कसैले तारिफ गर्दा खुसी लाग्थ्यो। अहिले सोच्छु- म कतिबेला कलाकार भएँ, पत्तै पाइनँ।

अंग्रेजीको आतंक र पढाइ
हामीले चार कक्षा नपुगी अंग्रेजीको नामै सुन्न पाउँदैन थियौँ। ‘एबिसिडी’ पढ्न पाइँदैनथ्यो। बरु घरमा १ कक्षामा भर्ना हुन जाँदा नै मैले स्वस्थानीको किताब कण्ठ गरिसकेको थिएँ।

कक्षा चार पुगेपछि बल्ल अंग्रेजी पढ्न थालियो। पहिलो पटक अंग्रेजी पढ्दा त हामी आतंकित नै भएका थियौँ। यो कस्तो शब्द आयो, कसरी कण्ठ गर्ने भन्ने पिरलो हुन्थ्यो।

त्यतिबेला बोर्डिङ स्कुलहरू पनि थिए, जहाँ अंग्रेजी पढाइ हुन्थ्यो। तर त्यहाँ धनाढ्य राणा, शाह परिवारका छोराछोरी मात्र पढ्थे। हाम्रो पहुँचमा सरकारी स्कुल मात्र थियो। सरकारी स्कुलबाटै मैले एसएलसी पास गर्दै प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेँ।

त्यतिबेला हाम्रोतिरको बजार अहिलेको ‘बाइसधारा’ थियो। सानो भर्याङ र माछापोखरी भन्ने ठाउँ नै थिएनन्। बाइसधारा आउन पनि नर्कटको घारी छिचोल्दै आउनुपर्थ्यो। अष्टनारायण हल पनि थिएन। म कलेज पढ्न सरस्वती क्याम्पस जाँदा बाइसधारासम्म हिँडेरै आउनुपर्थ्यो, त्यहाँबाट मात्र गाडी पाइन्थ्यो।

नाटक गर्दागर्दै जेल यात्रा
राष्ट्रिय नाचघरमा नाटक गर्ने मौका पाएपछि मेरो कलाकारिताले अर्को मोड लियो। २०३८ सालतिरबाट मैले नाचघरमा नाटक खेल्न थालेँ। त्यतिबेला नेपालमा टेलिभिजनको स्थापना भएकै थिएन। नाचघरमा कृष्ण मल्ल, रविन्द्र खड्का, हरिहर शर्मा लगायत थुप्रै अग्रज कलाकारहरू हुनुहुन्थ्यो।

नाचघरमा नाटक खेल्दाखेल्दै फिल्म बनाउने लहर चल्यो। साथीभाइबीच सल्लाह भयो- ३५/३६ हजारमा फिल्म बनिहाल्छ, बनाऔँ न त! म पनि हौसिएँ र १५ हजार लगानी गरेर ‘गाउँ र शहर’ नामक फिल्म बनाउन तम्सिएँ।

हामीले भृकुटीमण्डपमा फिल्मको शुभ-मुहूर्त गर्यौँ। तत्कालीन अञ्चलाधीश अच्युतराज रेग्मी हुनुहुन्थ्यो। मैले उहाँलाई नै मुहूर्तको प्रमुख अतिथि बनाएको थिएँ। उहाँ आउनुभयो, शुभ-मुहूर्त गरिदिनुभयो र ‘क्ल्याप’ पनि ठोकिदिनुभयो। भोलिपल्ट त्यो समाचार फोटोसहित गोरखापत्रको पहिलो पृष्ठमा छापियो।

तर, समाचार छापिएपछि कथाले अर्को मोड लियो। अञ्चलाधीशले मलाई कार्यालयमा बोलाउनुभयो। त्यहाँ पुग्दा उहाँले भन्नुभयो, ‘लक्ष्मीजी, तपाईंले के गर्नुभएको? कानुनमै नभएको कुरा गर्न लगाउनुभएछ। दरबारबाट पनि कुरा आयो, मलाई अप्ठ्यारोमा पार्नुभयो।’

मैले जवाफ दिएँ, ‘कानुन बनाउने त तपाईंहरूको काम हो नि!’ तर उहाँको आदेशमा प्रहरीले हामीलाई झ्यापझुप्पै समातेर खोरमा हाल्यो। फिल्मको काम त्यहीँ रोकियो। पैसा पनि फस्यो, जेल पनि बसियो।

त्यो फिल्ममा हामीले गाउँ र शहरबीचको विभेद देखाउन खोजेका थियौँ। पछि भने अञ्चलाधीशसँग मेरो सम्बन्ध राम्रो भयो। यो फिल्म गर्नुअघि मैले ‘बन्धन’ भन्ने फिल्ममा काम गरिसकेको थिएँ।

दर्शकको झापड र थुकाइ
नाटक र फिल्ममा काम गर्दा गाउँमा ‘यो त नायक भएछ, गाउँ चिनायो’ भनेर तारिफ पनि गर्थे। तर, जब मैले भिलेनको भूमिका गर्न थालेँ, कतिले गाली गरे, मुख छाडे। म त्यसलाई आफ्नो अभिनयको सफलता ठान्छु। म बाटोमा हिँड्दा कहिल्यै मास्क लगाउँदिनँ। म आफूलाई समाजको एउटा सामान्य पात्र ठान्छु।

यो यात्रामा मैले कतिपयको गाली खाएको छु, कतिले मलाई थुकेका छन् भने कतिले माया गरेर फोटो पनि खिचेका छन्। टेलिफिल्ममा गरेको भूमिकाकै कारण मैले कुटाइ समेत खानु परेको छ। मलाई लाग्छ- गाली खाने कि नेताले हो, कि अभिनेताले।

एकपटक अनामनगरको गोर्खा चोकमा साथीहरूसँग चिया पिउँदै थिएँ। बाटोमा एक जोडी पाका दम्पती हिँड्दै हुनुहुन्थ्यो। ती महिलाले मलाई हेर्नुभएको रहेछ। मेरो आँखा उहाँसँग जुध्यो। मैले सोचेँ- सायद चिनजानकै मान्छे हुनुहुन्छ होला।

तर, उहाँ त सरासर मतिर आउनुभयो र मेरो कठालो समातेर झापड हान्न आँट्नुभयो। श्रीमानले रोक्न खोज्दा उहाँ कराउनुभयो, ‘त्यो झ्याउँकिरीलाई किन दुःख दिएको हँ?’ खासमा किशोर भण्डारीको एउटा सिरियलमा मैले ‘झ्याउँकिरी’ पात्रलाई दुःख दिने नेगेटिभ भूमिका गरेको थिएँ। त्यो हेरेर उहाँमा गुम्सिएको आक्रोश मलाई भेट्दा पोख्नुभएको रहेछ।

पहिले-पहिले त नेगेटिभ भूमिका गर्दा मान्छेहरू कुट्नै आउँथे। मेरै गाउँका मान्छेले पनि जुत्ताले हान्न खोज्थे। पछि बुझ्दै गएपछि भने ‘फलनाको नाति, फलनाको छोरा हो, मान्छे त नराम्रो होइन, कसरी गलत लाइनमा लाग्यो’ भन्दै कुरा काट्थे।

माघ १५, २०८२ बिहीबार १४:१९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।