जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट भागेका थुनुवाद्वारा संगठित लुटपाट, प्रहरीले गोली हानेर नियन्त्रणमा लियो १० जना
काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६, मूलपानीमा प्रहरीले बुधबार राति गोली चलाएर संगठित लुटपाटमा संलग्न १० जनाको समूहलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामध्ये अधिकांश केही समयअघि जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवाहरू रहेको खुलेको छ। प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति प्रहरी वृत्त, महाराजगञ्जबाट भागेका थुनुवा भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार, राति १२:१५ बजे मूलपानी चोकमा चेकिङमा खटिएका प्रहरीमाथि यो समूहले दुव्र्यवहार र आक्रमण गरेको थियो।
आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
विगत एक महिनादेखि यो समूह मूलपानी र आसपासका क्षेत्रमा सक्रिय रहेको प्रहरीको भनाइ छ। एउटा मोटरसाइकलमा तीन जनाका दरले हिँड्ने र धारिलो हतियार देखाएर लुटपाट गर्ने गरेको उनीहरूमाथि आरोप छ।
प्रहरी स्रोतका अनुसार, यो गिरोहले राति १० बजेपछि बाटोमा एक्लै-दुक्लै हिँड्ने मानिसलाई घेरा हाल्ने, शरीर खानतलासी गर्ने तथा नगद र गरगहना लुट्ने गर्दै आएको थियो।
त्यस्तै, रातिको समयमा निजी सवारी साधनहरू रोकेर चालक तथा यात्रुलाई नियन्त्रणमा लिई लुटपाट गर्ने गरेको पाइएको छ।
मर्निङ वाकमा निस्किएका महिलाहरूको कानबाट गहना लुछेर भागेको भन्दै उनीहरूविरुद्ध ३० देखि ४० वटा उजुरी परेको प्रहरीले जनाएको छ।
लुटपाटको शृङ्खला बढेपछि जिल्ला प्रहरी परिसर, भद्रकालीले विशेष अपरेसन टोली खटाएको थियो।
बुधबार राति सोही टोलीले पिछा गर्ने क्रममा भाग्न खोजेका र प्रहरीमाथि नै जाइलागेका कारण प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको डीएसपी बुढाथोकीले बताए।
माघ १५, २०८२ बिहीबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।