विश्वकपको क्याम्पमा रहेका अमेरिकी क्रिकेटर जोन्स निलम्बित, म्याच फिक्सिङसहित ५ गम्भीर अभियोग
एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिकाका प्रमुख ब्याटर आरोन जोन्सलाई एन्टी करप्सन नियम उल्लंघन गरेको आरोपमा तत्काल लागू हुने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ।
उनीमाथि पाँचवटा अलग–अलग अभियोग लगाइएको छ र यसको जवाफ दिन १४ दिनको समय दिइएको छ।
३१ वर्षीय जोन्स सन् २०२६ को टी-२० विश्वकपको तयारीका लागि श्रीलंकामा बन्द प्रशिक्षणमा रहेको १८ सदस्यीय अमेरिकी टोलीमा समावेश थिए। तर, यो निलम्बनसँगै उनी अब विश्वकप टोलीमा छनोट हुन अयोग्य भएका छन्।
आईसीसीका अनुसार जोन्समाथि लागेका आरोपहरू मुख्यतया बार्बाडोसमा भएको ‘२०२३/२४ बिम-१०’ प्रतियोगितासँग सम्बन्धित छन्, जुन क्रिकेट वेस्ट इन्डिजको क्षेत्राधिकारमा पर्छ। यद्यपि, उनीमाथि लागेका दुईवटा आरोप अन्तर्राष्ट्रिय खेलहरूसँग पनि जोडिएका छन्।
जोन्समाथि बिम-१० प्रतियोगितामा खेलको नतिजा, प्रगति वा अन्य पक्षलाई अनुचित रूपमा प्रभाव पार्ने वा ‘फिक्सिङ’ गर्ने प्रयास गरेको, भ्रष्टाचारजन्य काममा संलग्न हुन आएको प्रस्ताव वा निम्तोबारे क्रिकेट वेस्ट इन्डिजलाई जानकारी नगराएको आरोप छ।
यसका अलावा भ्रष्टाचार विरोधी अधिकारीहरूले गरेको अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेको वा असफल भएको, आईसीसीको नियम अनुसार आफूलाई आएका भ्रष्ट प्रस्तावहरूबारे आईसीसीको भ्रष्टाचार विरोधी इकाईलाई पूर्ण जानकारी नदिएको र अनुसन्धानसँग सम्बन्धित प्रमाणहरू लुकाएर वा नष्ट गरेर अनुसन्धान प्रक्रियामा अवरोध पुर्याएको अभियोग छन्।
आईसीसीले यो कारबाही एक वृहत अनुसन्धानको हिस्सा भएको बताएको छ। यसको अर्थ भविष्यमा अन्य खेलाडी वा पदाधिकारीमाथि पनि यस्तै आरोप लाग्न सक्ने सम्भावना छ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका जोन्सले अमेरिकाका लागि ५२ एकदिवसीय र ४८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
सन् २०२४ को टी-२० विश्वकपमा उनले क्यानडाविरुद्ध ४० बलमा ९४ रन र पाकिस्तानविरुद्ध ऐतिहासिक जित दिलाउन नटआउट ३६ रनको यादगार पारी खेलेका थिए।
उनले सीपीएल, एमएलसी र बीपीएल जस्ता लिगहरू पनि खेलेका छन्। उनले सन् २०२५ को अप्रिलयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।
माघ १५, २०८२ बिहीबार ०८:१५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।