चौथो टी-२० मा न्युजिल्याण्डसँग ५० रनले हार्यो भारत
एजेन्सी : बुधबार भएको चौथो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्याण्डले भारतलाई ५० रनले पराजित गरेको छ।
यो जितसँगै न्युजिल्याण्डले जारी शृङ्खलामा आफ्नो पहिलो जित दर्ता गरेको छ। यद्यपि, पाँच खेलको यो शृङ्खलामा भारतीय टोलीले ३-१ को निर्णायक अग्रता भने कायमै राखेको छ।
चौथो टी-२० खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको न्युजिल्याण्डको शीर्ष क्रमका ब्याट्सम्यानहरूले उत्कृष्ट सुरुवात गरे।
डेभन कन्वे (२३ बलमा ४४ रन) र टिम सिफर्ट (३६ बलमा ६२ रन) ले पावरप्लेमा शानदार प्रदर्शन गर्दै ९ ओभरभित्रै टिमको स्कोर १०० रन पुर्याएका थिए।
भारतीय बलरहरूले बीचमा खेलमा फर्कने प्रयास गरे पनि न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१५ रनको विशाल स्कोर खडा गर्यो।
बलिङतर्फ भारतका कुलदीप यादवले ३९ रन खर्चेर २ विकेट र अर्शदीप सिंहले ३३ रन खर्चेर २ विकेट लिए।
२१६ रनको विजय लक्ष्य पछ्याएको भारतको सुरुवात खराब रह्यो। अभिषेक शर्मा, कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्ड्या सस्तैमा आउट भए।
सन्जु सैमसन (१५ बलमा २४ रन) र रिंकु सिंह (३० बलमा ३९ रन) ले पारी सम्हाल्ने कोसिस गरे। यसैबीच शिवम दुबेले २३ बलमा ६५ रनको विष्फोटक पारी खेले।
उनले ७ छक्का प्रहार गर्दै भारतको जितको आशा जगाएका थिए। दुबेले पुरुष टी-२० अन्तर्राष्ट्रियमा भारतका लागि तेस्रो सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान पनि बनाए।
तर न्युजिल्याण्डले महत्त्वपूर्ण समयमा विकेट लिइरह्यो र अन्ततः भारतीय टोली १८.४ ओभरमा १६५ रनमै अलआउट भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्याण्डका टिम सिफर्ट ‘प्लेयर अफ द म्याच’ घोषित भए।
माघ १५, २०८२ बिहीबार ०८:०५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।