उच्च पहाडी तथा हिमाली क्षेत्रमा अझै हिमपात र वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
तराईका धेरैजसो स्थानमा हुस्सु र कुहिरो लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपात र वर्षा हुनसक्ने अनुमान गरिएको छ।
तराईका केही स्थानमा राति पनि हुस्सु लाग्ने सम्भावना छ।
हिमपात, वर्षा र हुस्सुका कारण चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई र सडक यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सम्बन्धित सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
माघ १५, २०८२ बिहीबार ०७:२१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।