बदलिँदो चुनावी शैली : मुठभेड छाडेर अंकमाल र माला साटासाट

बदलिँदो चुनावी शैली : मुठभेड छाडेर अंकमाल र माला साटासाट

काठमाडौं : गत निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार प्रदीप ज्ञवाली र कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीबीच भेट हुँदा देखाएको हार्दिक व्यवहार निकै चर्चित भयो। एक अर्काको प्रतिस्पर्धी भए पनि हार्दिकता देखाएर शुभकामना दिएको भन्दै उनीहरुको शैली धेरैले मन पराए। निर्वाचनमा भण्डारी निर्वाचित भए।

झापा-३ मा माओवादीका उम्मेदवार राम कार्की र कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले पनि एकअर्काप्रति देखाएको सम्मान पनि धेरैले रुचाए। कार्कीले जित्दा शर्माले माला लगाएर बधाई दिएका थिए।

एक अर्काको समर्थकसमेत भेट्यो कि झम्टिहाल्ने राजनीतिक माहोलमा यी चार नेताले देखाएको व्यवहार साँच्चै प्रशंसा लायक थियो। जेनजी आन्दोलनपछि बदलिएको महोलमा फागुन २१ मा हुने निर्वाचनमा भने यी नेताको शैली धेरैले पछ्याएको देखियो।

कांग्रेस,एमाले, नेपाली कम्युनिष्ट पार्टी अनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू प्रचारमा हिँड्दा प्रतिस्पर्धी भेटे भिड्ने हैन अंकमाल गर्न थालेका छन्। यस्तै व्यवहार देखाइन् चितवन ३ मा नेकपाबाट उम्मेदवार बनेकी रेनु दाहालले। चुनाव प्रचारकोक्रममा उनको समूह र कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङको समूहबीच भेट हुँदा रेनुले गुरुङलाई खादा लगाइदिएर शुभकामना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरलै भयो।

एक-अर्को दलका उम्मेदवारबीच आरोप-प्रत्यारोपसहित ‘बोलचाल बन्द’ हुने हिजोको स्थितिबाट आजको यो अवस्था देखिनु पक्कै पनि सुखद हो। 

२०६२/६३ को परिवर्तनपछि कुनै न कुनै रूपमा हुँदै आएको चुनावी तालमेल र मिलीजुली सरकार गठन गर्ने परिस्थितिले पनि एक-अर्काप्रति नजिक्याएकाले पनि होला, केही अपवादका घटना बाहेक दलका प्रतिस्पर्धीबीच अधिकांश ठाउँमा हार्दिक सम्बन्ध देखियो।

प्रतिष्पर्धीहरु प्रचारकोक्रममा जम्काभेट हुँदा मुठभेड हैन माला साटासाट गरेका दृष्य देखिएका छन्। एक अर्कालाई जीतको शुभकामना दिँदै सँगै लिइएका तस्बिरहरु सामाजिक सञ्जालमा रुचाइएका छन्।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार लेखनाथ दाहाल एकअर्का दलका नेता र कार्यकताबीच हार्दिकता देखिँदा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र मितव्ययी तुल्याउन सहयोग पुग्ने बताए।

“नेता तथा कार्यकर्ताबीचको हार्दिकता र शालीनताले चुनावी वातावरण सहज तुल्याउँछ। निर्वाचनलाई खर्च सामान्य बनाउन जनतामाझ पुगेर अन्तरसंवाद गर्ने, विश्वास दिलाउने र मत माग्ने कार्य गर्नु नै असल अभ्यास हो” उनले भने।

राजनीति सङ्लिँदै गएकाले विगतमा पार्टी कमिटीमार्फत जनतामा पुग्ने गरेको उम्मेदवार अहिले प्रत्यक्ष जनता सहभागी हुने परिस्थिति बनेको उनले बताए। भिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत अरू उम्मेदवारको विचार सुन्ने र बुझ्ने वातावरण मिलेको र यसले लोकतान्त्रिक राजनीति संस्कारको विकास भएको उनले बताए।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजाल निर्वाचनको अत्यन्त प्रारम्भिक चरणमा रहेकाले आगामी दिन कसरी अघि बढ्ने भन्ने अहिले नै आकलन गर्न बाँकी रहेको बताउँछन्।

“सूचना प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने ठूलो चेतना छ, तर त्यसको प्रयोग कतिको प्रभावकारी हुन्छ ? मतदाता र उम्मेदवारको भेटघाटको सट्टामा काम गर्छ, अहिलेको आकलन गर्न सकिन्न” उनले भने। शहरी क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै  रिजालले गाउँघरमा भने मतदाता उम्मेदवारलाई देख्न र भेट्न चाहने बताए। उनले मोरङ क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन्।

एमाले सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार हरिप्रसाद उप्रेती निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढेको प्रतिक्रिया दिन्छन्।

उनी भन्छन्, “कतिपय उम्मेदवारको स्वभावमा पनि भरपर्ने भएकाले हार्दिकताको विषय त्यससँग जोडिन्छ। तर असल राजनीतिक संस्कार अघि बढेको छ, जसले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको छ।”

पूर्वमन्त्री उप्रेतीका अनुसार, चुनावमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक छ। गाउँ र समाजको संरक्षण गरेर बसेका निष्ठावान्, सम्पत्ति नभएका मानिस प्रतिस्पर्धा गर्न पाउनुपर्छ। त्यस्ता व्यक्ति नीति निर्माण तहमा पुग्नुपर्छ। राज्यले त्यस्तो वातावरण गर्न सकेन भने राज्य ठिक ढङ्गले अघि बढ्न सक्दैन। मुख्य कुरा निर्वाचनमा खर्च गर्न नपर्ने प्रणालीको विकास गर्नुपर्ने छ।

राष्ट्रिय जनता दल नेपालका तर्फबाट सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवार रामप्रकाश चौधरी यसअघिको निर्वाचनमा एक अर्कालाई देखे/नदेखेजस्तो गर्ने प्रवृत्ति अहिले आफूले महसुस नगरेको बताउँछन्।

“पहिलेजस्तो तनाव र पानी बाराबारको स्थिति अहिले छैन, हार्दिकता साटासाट गरेर नै चुनावी माहोल अघि बढिरहेको छ। विगतको जस्तो जुलुस लिएर घर दैलो गर्ने कार्य निकै कम छ”, उनले भने, “जनताका केही गुनासो छ। पाँच वर्षका लागि पठाएको किन फर्केर आएको भन्ने प्रश्न सुन्न परेको छ।”

जिल्लाका मतदाता प्रविधिसँग अभ्यस्त नभइसकेकाले सम्पूर्ण चुनावमा प्रविधिमय भइहाल्छ भन्ने हुन्न। सहरी क्षेत्रमा यसको सदुपयोग र दुरुपयोग दुवै छ। असल अभ्यासलाई आत्मसात् गर्नुपर्छ तर प्रविधिको प्रयोगको पाटोमा जाँदा त्यसमा पनि खर्च गर्नुपर्ने अवस्था छ।

नागरिक उन्मुक्ति पार्टी नेपालकातर्फबाट बर्दिया निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अब्दुल खान जिल्लाका सबै निर्वाचन क्षेत्रमा भाग लिने राजनीतिक दल र उम्मेदवारबीच सौहार्दता रहेको बताउँछन्। उनी भन्छन्, “एकले अर्काप्रति आरोप प्रत्यारोप नगरी जनता नै सर्वोपरि हुन् भन्ने भावनाले मतदाता भेटघाट चलाएको र निर्वाचनको तयारीमा जुटिरहेको अवस्था छ।”

उम्मेदवारी दर्ता गराउँदा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमुक्ति पार्टीका उम्मेदवारले सँगै उभिएर तस्बिर खिचाएको दृष्टान्त दिँदै उनले भने, “जनताको हातमा फैसला छ, जनता निकै सचेत छन्, निर्णय गर्न जनतालाई छाडेका छौं। हामीबीच कुनै तिक्तता छैन।”

निर्वाचनको प्रसारप्रसारमा सामाजिक सञ्जालले धेरै सजिलो पुर्याए पनि केही व्यक्तिले त्यसको दुरुपयोग गरी व्यक्ति विशेषलाई लक्षित गरी बदनाम गर्ने प्रवृत्ति सच्याउनुपर्ने उनको भनाइ छ।

-राससको समाचार परिमार्जनसहित प्रकाशित गरिएको हो।

माघ १४, २०८२ बुधबार १९:२३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।