युक्रेनमा रुसी आक्रमण : तीन जनाको मृत्यु, वार्ता र युद्धसँगै अघि बढ्दै
एजेन्सी : रुसले युक्रेनमा गरेको ताजा आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार रुसी फौजको निरन्तरको बमबारी र ड्रोन आक्रमणले जनजीवन थप त्रसित बनाएको छ।
मंगलबार मात्रै रुसी ड्रोनले रेलमा गरेको आक्रमणमा पाँच यात्रुसहित देशभर कम्तीमा १२ जनाको मृत्यु भएको थियो। त्यसको केही घण्टा नबित्दै रुसले पुनः आक्रमण गरेको हो।
किएभ क्षेत्रको सैन्य प्रशासन प्रमुख माइकोला कलाश्निकका अनुसार बिलोगोरोद्स्का समुदायमा भएको आक्रमणमा एक पुरुष र एक महिलाको मृत्यु भएको छ।
युक्रेन प्रहरीले उक्त आक्रमणमा मारिएका दम्पतीका ४ वर्षीय छोरासहित अन्य तीन जना घाइते भएको जनाएको छ।
यस्तै, मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सान्डर गान्जमले जानकारी दिएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको बताएका छन्। उनले युद्ध अन्त्यका लागि मस्कोमाथि थप दबाब सिर्जना गर्न आफ्ना सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्।
गत हप्ता मात्रै संयुक्त अरब इमिरेट्स (युएई) मा अमेरिकी संयोजकत्वमा रुस र युक्रेनका वार्ताकारहरूबीच द्वन्द्व अन्त्यका विषयमा छलफल भएको थियो।
यद्यपि, रुसले युक्रेनी नागरिकलाई अत्यधिक चिसो र जाडोको समयमा ऊर्जाविहीन बनाउने उद्देश्यले घातक आक्रमणहरू जारी राखेको छ।
राष्ट्रपति जेलेन्स्कीले दुई देशबीचको अर्को चरणको वार्ता आगामी फेब्रुअरी १ मा हुने अपेक्षा गरिएको बताएका छन्।
माघ १४, २०८२ बुधबार १४:३९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।