इरानतर्फ अर्को शक्तिशाली अमेरिकी बेडा पठाएर ट्रम्पको धम्की- ‘आशा छ सम्झौता हुन्छ’

इरानतर्फ अर्को शक्तिशाली अमेरिकी बेडा पठाएर ट्रम्पको धम्की- ‘आशा छ सम्झौता हुन्छ’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको अर्को एउटा नौसैनिक बेडा इरानतर्फ अघि बढिरहेको बताएका छन्। साथै, उनले इरानले अमेरिकासँग सम्झौता गर्ने आशा समेत व्यक्त गरेका छन्।

मंगलबार एक भाषणका क्रममा ट्रम्पले भने, ‘जहाजहरूको अर्को एउटा सुन्दर बेडा इरानतर्फ बढिरहेको छ। हेरौँ अब के हुन्छ।’

सैन्य भाषामा ट्रम्पले उल्लेख गरेको बेडाको अर्थ एउटा मात्र जहाज होइन। यो युद्धका लागि पूर्ण तयारी अवस्थामा रहेको युद्धपोतहरूको विशाल समूह हो।

एउटा नौसैनिक बेडामा सामान्यतया लडाकु विमान बोक्ने विशाल ‘विमानवाहक पोतको नेतृत्वमा क्षेप्यास्त्र हान्न सक्ने अन्य सहयोगी जहाज, पनडुब्बी र बन्दोबस्तीका सामान बोक्ने जहाजहरू एकसाथ समावेश हुन्छन्।

यसको अर्थ, अमेरिकाले हजारौं सैनिक र दर्जनौं लडाकु विमानसहितको अर्को ठूलो शक्ति इरान नजिक पठाउँदै छ।

तनाव बढ्दै जाँदा राष्ट्रपति ट्रम्पले कूटनीतिक बाटो पनि खुला राखेको सङ्केत दिएका छन्।

उनले भने, ‘मलाई आशा छ कि उनीहरूले (इरानले) सम्झौता गर्नेछन्।’

यसअघि गत साता पनि उनले एउटा ठूलो अमेरिकी सैन्य बेडा इरानतर्फ बढिरहेको बताएका थिए।

बीबीसी फारसी सेवाका अनुसार, अमेरिकी युद्धपोत 'अब्राहम लिंकन' फारसको खाडीमा पुगिसकेको छ।

यो परमाणु शक्तिबाट सञ्चालित युद्धपोत हो र यसलाई अमेरिकाका सबैभन्दा ठूला र अत्याधुनिक विमानवाहक पोतहरूमध्ये एक मानिन्छ।

माघ १४, २०८२ बुधबार ०९:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।