आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना छ।
विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
त्यस्तै, बागमती, मधेस र कोशी प्रदेशका पहाडी भेगका केही स्थान तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ।
वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने तथा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यसहित हवाई र सडक यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
माघ १४, २०८२ बुधबार ०७:४८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।