मिसन पुस्तान्तरण-५ : कांग्रेसको ‘कोर एरिया’मा कोइराला विरासतसँग भिड्दै राप्रपाका २७ वर्षीय उम्मेदवार सविन
काठमाडौं : संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको झन्डै दुई दशक पुग्न लाग्दा नेपालको राजनीतिक धरातल फेरिएको छ। राजतन्त्र इतिहास बनिसकेको छ भने धर्मनिरपेक्षता संविधानको अभिन्न अंग हो।
यस्तो परिवेशमा ‘राजसंस्था र सनातन धर्म’ को एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिनु आफैँमा चुनौतीपूर्ण कार्य हो। त्यसमाथि, त्यो चुनौती नेपाली कांग्रेसको ऐतिहासिक विरासत बोकेको ‘कोइराला परिवार’ को गढमा दिनु, फलामको चिउरा चपाउनु सरह हो।
यही असम्भव जस्तो देखिने चुनौतीलाई स्वीकार गर्दै मोरङ क्षेत्र नम्बर ६ को चुनावी मैदानमा होमिएका छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का २७ वर्षीय उम्मेदवार- सविन निरौला।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले ‘बा पुस्ता’ लाई विश्राम दिँदै ४० वर्ष मुनिका ३४ भन्दा बढी युवालाई ‘टेस्ट’ गर्न मैदानमा उतारेको छ।
तिनै युवा अनुहारहरूको भीडमा सविनको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ। किनकी, उनको लडाइँ सामान्य प्रतिस्पर्धीसँग होइन, कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग हुँदैछ।
कोइरालाको ‘गढ’ मा जेनजीको धावा
मोरङ क्षेत्र नम्बर ६ नेपाली राजनीतिको हट सिट हो। यो क्षेत्रलाई कांग्रेसको कोर एरिया मानिन्छ। अघिल्लो निर्वाचनमा यहाँबाट डा. शेखर कोइराला विजयी भएका थिए। उनले एमालेका लालबाबु पण्डित र अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै संसदको यात्रा तय गरेका थिए।
यसपटकको दृश्य पनि खासै फरक छैन, पात्रहरू उही छन् तर एउटा नयाँ र कलिलो अनुहार थपिएको छ। कांग्रेसबाट पुनः डा. कोइराला नै मैदानमा छन्। एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट उपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सविना आचार्य चुनावी दौडमा छन्।
यी नेताहरूको बीचमा २७ वर्षे सविनले राप्रपाको झन्डा बोकेर आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउने कसरत गरिरहेका छन्।
अघिल्लो निर्वाचनको तथ्यांक हेर्ने हो भने यहाँ राप्रपाको आधार पूर्णतः कमजोर भने छैन। त्यसबेला राप्रपाका ६ दशक काटेका पाका उम्मेदवार गोपाल कटुवाल क्षेत्रीले ८ हजार ८ सय २९ मत ल्याएका थिए।
राजनीतिक उथलपुथल र ठूला दलहरूको गठबन्धनका बीच पनि राप्रपाले ल्याएको त्यो मतलाई आधार मान्दै सविन यसपटक युवा जोस र ‘जेनजी’ सेन्टिमेन्ट मिसाएर नतिजा उल्टाउने दाउमा छन्।
युवा संघको केन्द्रीय सदस्यसदेखि राप्रपाको उम्मेदवारसम्म
मोरङको पथरी शनिश्चरेमा जन्मिएका सविनको राजनीतिक यात्रा सिधै राप्रपाबाट सुरू भएको होइन। उनको विगत खोतल्ने हो भने उनी कम्युनिस्ट स्कुलिङबाट आएका युवा हुन्।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरू गरेका उनी एमालेको शक्तिशाली भ्रातृ संगठन ‘युवा संघ’ को केन्द्रीय सदस्यसम्म बनेका थिए। तर, एमालेभित्रको राजनीति र कार्यशैलीले उनलाई लामो समय बाँध्न सकेन।
उनी भन्छन्, ‘मैले युवा संघमा हुँदा पनि समानान्तर नेतृत्व र विधि पद्धतिको विषयमा निरन्तर आवाज उठाएको थिएँ। सधैँ पार्टीभन्दा माथि देश हुन्छ भन्दै आएँ। तर, उहाँहरूबाट सुधारको कुनै गुञ्जायस नदेखेपछि र देशलाई विभिन्न वादको नाममा सकाउने खेल भइरहेको महसुस भएपछि मैले त्यो बाटो नै त्यागेँ।’
पार्टी परित्याग गरेर केही समय स्वतन्त्र बसेका सविन अन्ततः ‘सनातन धर्म’ र ‘राजसंस्था’ को एजेन्डामा सहमत हुँदै राप्रपामा जोडिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेता कमल थापाले उनलाई पार्टी प्रवेश मात्र गराएनन्, मोरङ-६ जस्तो महत्त्वपूर्ण क्षेत्रको टिकट दिएर विश्वास समेत गरे।

पढाइ, जागिर र राजनीतिः बहुआयामिक सविन
सविन केवल झन्डा बोक्ने कार्यकर्ता मात्र होइनन्, उनी एक अध्ययनशील युवा पनि हुन्। १० कक्षासम्म संस्कृत धारमा अध्ययन गरेका उनले त्यसपछि विज्ञानतर्फ मोडिँदै ‘मेडिकल ल्याब टेक्नोलोजी’ मा डिप्लोमा गरे। केही समय अस्पतालमा जागिर खाएर आत्मनिर्भर बन्ने प्रयास पनि गरे।
तर, समाज र देशको अवस्थाले उनलाई चैनसँग बस्न दिएन। ‘राजनीति बुझेर नै देश सेवा गर्नुपर्छ’ भन्ने निष्कर्षमा पुगेका उनी अहिले काठमाडौंको आरआर क्याम्पसमा राजनीतिशास्त्र विषयमा स्नातक तहमा अध्ययनरत छन्। ब्याचलर नसकिँदै उनी सांसदको उम्मेदवार बनेर भोट माग्दैछन्।
आफ्नो उम्मेदवारीबारे उनी प्रष्ट छन्- ‘म आरआर क्याम्पसमा भर्ना हुनुको उद्देश्य नै राजनीतिलाई प्राज्ञिक ढंगले बुझ्नु र आमूल परिवर्तनको संवाहक बन्नु हो।’
रोचक कुरा त के छ भने, सविनको परिवार कुनै एक पार्टीमा कटिबद्ध छैन। उनका परिवारका सदस्यहरूले विगतमा कहिले कांग्रेस, कहिले माओवादी त कहिले एमालेलाई भोट हाल्दै आएका छन्। तर, सविनले भने परिवारको त्यो ‘अस्थिर’ परम्परा र समाजको स्थापित मान्यतालाई तोड्दै राप्रपा रोजेका छन्।
आफ्नै घरबाट सुरू भएको यो वैचारिक विद्रोहलाई उनी अब समाज र निर्वाचन क्षेत्रमा स्थापित गर्न चाहन्छन्। सविन भन्छन्, ‘भौतिकवाद र अनेक वादका नाममा देशलाई खोक्रो बनाइयो। अब त्यो पुरानो सोचलाई बिदा गरेर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने बेला आएको छ।’
जेनजी आन्दोलन र परिवर्तनको हुटहुटी
भदौ २३-२४ मा भएको ‘जेनजी आन्दोलन’ ले सविनजस्ता युवालाई राजनीतिमा हस्तक्षेप गर्न थप ऊर्जा दिएको छ। उनी आफ्नो उम्मेदवारीलाई केवल एउटा सिटको जित-हार भन्दा पनि पुस्तान्तरणको लडाइँका रूपमा व्याख्या गर्छन्।
‘सपना बोकेर विदेशिनुपर्ने बाध्यता, योग्यता भएर पनि ‘पावर’ र ‘सोर्स’ नहुँदा जागिर नपाउने पीडा, अनि जताततै व्याप्त भ्रष्टाचार- यी सबै कुरा मैले आफ्नै आँखाले देखेको छु र भोगेको छु,’ भावुक हुँदै सविन भन्छन्, ‘भाषण मात्र गर्ने तर नतिजा नदिने नेतृत्व हामीलाई चाहिएको छैन। अब सही नियत भएका युवाले नै परिवर्तनको सुरुवात गर्नुपर्छ।’
डा. शेखर कोइरालालगायत ‘बा पुस्ता’ का दिग्गज नेताहरूसँग चुनावी मैदानमा उत्रिएका सविनलाई थाहा छ- बाटो सहज छैन। तर, उनी भन्छन्, ‘हिजोका दिनमा असम्भव मानिएका कुराहरू आज जेनजी पुस्ताले सम्भव बनाउँदैछ। परिवर्तनको सुरुवात मोरङ-६ बाटै किन नहुने?’
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणका यसअघिका समाचार:
माघ १३, २०८२ मंगलबार ०८:२२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।