ओलीसँग ‘पब्लिक डिबेट’ गर्न बालेनद्वारा अस्वीकार, ‘देश जलाउने’ अभिव्यक्तिमा उठाए प्रतिप्रश्न

ओलीसँग ‘पब्लिक डिबेट’ गर्न बालेनद्वारा अस्वीकार, ‘देश जलाउने’ अभिव्यक्तिमा उठाए प्रतिप्रश्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेका वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन'ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा उभिएर ‘पब्लिक डिबेट’ गर्न अस्वीकार गरेका छन्। दलहरूले घोषणा गरेका भावी प्रधानमन्त्री उम्मेदवारहरूबिच सार्वजनिक क्षेत्रबाट ‘पब्लिक डिबेट’को प्रस्ताव गरिएको थियो। 

ओली सामाजिक सञ्जालमार्फत ‘पब्लिक डिबेट’का लागि आफू तयार रहेको भनेका थिए। उनले सामाजिक सञ्जालमा गरिने प्रचारमुखी सामग्रीले उम्मेदवारको वास्तविक चरित्र लुकाउन सक्ने भन्दै उनले सार्वजनिक बौद्धिक वृत्तबाट भइरहेको पारदर्शी बहसको मागलाई सकारात्मक रूपमा लिएको भनाई राखेका थिए। ओलीले आगामी निर्वाचनलाई देश बनाउने र देश बिगार्ने पक्षबीचको प्रतिस्पर्धाका रूपमा चित्रण गरेका थिए।

उनको स्टाटसमा कमेन्ट लेख्दै बालेनले गम्भीर राजनीतिक र नैतिक प्रश्न उठाउँदै ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरे। उनले विगतका हिंसात्मक घटनाको प्रसङ्ग उठाउँदै ओलीमाथि आरोप तेर्साए। ओलीले प्रयोग गरेको ‘देश जलाउने’ शब्दावलीको जवाफमा उनले नेताहरूले आफ्नो अपराध लुकाउन देश जलाएको दाबी गरे।

"आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला,' बालेनले कमेन्टमा लेखेका छन्, "७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।"

माघ ११, २०८२ आइतबार ०९:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।