सभापतिको हैसियतमा भोलि सानेपा छिर्दै थापा : 'भावी प्रधानमन्त्री' घोषणा गर्ने कांग्रेस तयारी
काठमाडौं : नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि गगन थापा पहिलो पटक बैठकका लागि पार्टी कार्यालय जाँदै छन्।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ। बैठकले सभापति थापालाई औपचारिक भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ। गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
पार्टीभित्रको आन्तरिक विवाद र वैधानिकताको प्रश्नका कारण यसअघिका बैठकहरू पार्टी कार्यालयमा बस्न सकेको थिएन। अदालतको प्रारम्भिक सुनुवाइ सभापति थापाको पक्षमा देखिएपछि देउवा पक्ष सानेपास्थित कार्यालय उपलब्ध गराउन तयार भएको हो।
शुक्रबारको बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ। बैठकले चुनावी रणनीति र पार्टीको आधिकारिक एजेन्डाहरूका बारेमा समेत छलफल गर्नेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापाले सर्लाही क्षेत्र नम्बर- ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले वारेसमार्फत निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए।
सानेपामा बस्ने केन्द्रीय समितिको बैठक र औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि थापा आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम रहेको छ। उनकै नेतृत्वमा कांग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू छनोट गरी चुनावी मैदानमा उतारेको छ।
यता, पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आधिकारिकताका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
माघ ८, २०८२ बिहीबार १४:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।