तराईमा हुस्सुको सास्ती, शुक्रबारदेखि वर्षा र चिसो बढ्ने सम्भावना

तराईमा हुस्सुको सास्ती, शुक्रबारदेखि वर्षा र चिसो बढ्ने सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जसका कारण बिहीबार बिहानैदेखि तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बादल लागेको छ भने देशका अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ।

तर, तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण हवाई उडान र सडक यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसैबीच, केही दिनयता घाम लागिरहे पनि शुक्रबारदेखि भने मौसममा बदलाव आउने देखिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार शुक्रबारदेखि चिसो बढ्ने र झरी पर्ने सम्भावना छ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, "पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ। काठमाडौँसम्म हल्का वर्षा आउला भन्ने आशा अझै छ।"

पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा राम्रो पानी पर्ने देखिए पनि पूर्वी नेपालको हिमाली भेगमा भने हल्का हिमपातको मात्र सम्भावना रहेको छ।

माघ ८, २०८२ बिहीबार ०८:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।