विश्वकपमा बंगलादेशको सहभागिता अन्योलमा, कप्तान भन्छन्- ‘हामी कुन देश जाँदैछौँ, थाहा छैन’
एजेन्सी : सन् २०२६ को टि-२० विश्वकप सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा बंगलादेशको सहभागितालाई लिएर ठूलो अन्योल सिर्जना भएको छ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र त्यहाँको सरकारले भारतमा हुने खेलहरूमा आफ्नो टोली नपठाउने अडान लिएपछि स्थिति जटिल बनेको हो।
बंगलादेशका कप्तान लिटन दासले टोली घोषणा भइसके पनि खेलाडीहरू मानसिक रूपमा अन्योलमा रहेको स्वीकार गरेका छन्।
बंगलादेश प्रिमियर लिग (बीपीएल)बाट आफ्नो टोली बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै कप्तान लिटन दासले भने, ‘हामीले टोली त घोषणा गर्यौं, तर अहिलेसम्म कुनै पनि खेलाडीलाई थाहा छैन कि हामी कुन देश जाँदैछौं वा कोसँग खेल्दैछौं। यदि हामीलाई विपक्षी वा भेन्यु थाहा भएको भए तयारी गर्न सजिलो हुने थियो। म जस्तै अहिले सिङ्गो बंगलादेश अन्योलमा छ।’
कप्तान दासले पत्रकारहरूलाई उल्टै प्रश्न गर्दै भने, ‘के तपाईंहरू पक्का हुनुहुन्छ कि हामी विश्वकपमा जाँदैछौं? वास्तविकता के हो भने, हामी नै निश्चित छैनौं कि हामी जान्छौं वा जाँदैनौं।’
उनले राजनीतिक तनावबारे टिप्पणी गर्न अस्वीकार गरे पनि परिस्थिति खेलाडीका लागि सहज नरहेको बताए। यद्यपि, जस्तै निर्णय आए पनि खेलाडीहरूले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
यो विवादको सुरुवात तब भयो जब भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्देशनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटायो। यसको कुनै आधिकारिक कारण खुलाइएको थिएन।
यसको प्रतिक्रिया स्वरूप बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारणमा प्रतिबन्ध लगायो। लगत्तै बंगलादेश क्रिकेट बोर्डले भारतमा हुने टि-२० विश्वकपका खेलहरू खेल्न अस्वीकार गर्दै आईसीसीलाई पत्र पठाएको थियो।
विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदैछ। तालिका अनुसार बंगलादेशका सबै समूह चरणका खेलहरू भारत (कोलकाता र मुम्बई) मा तय भएका छन्। पहिलो खेल फेब्रुअरी ७ मा वेस्ट इन्डिजविरुद्ध कोलकातामा हुनुपर्ने हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि, जनवरी २१ सम्ममा आईसीसीले भेन्यु (खेल स्थल) वा बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।
माघ ७, २०८२ बुधबार ०८:३४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।