उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, २ हजार ९२५ को उम्मेदवारी
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको हो।
उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी आयोगले माघ ८ गते साँझ ५ बजेसम्म निर्णय गर्ने र नामावली प्रकाशन गर्ने जनाएको छ।
आयोगका अनुसार माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिनेछ। सोही दिन बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।
दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ।
यसअघि, आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।
आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार हालसम्म २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारी दिनेमध्ये २ हजार ५ सय ८९ पुरुष र ३ सय ३६ महिला रहेका छन्। यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरे।
माघ ७, २०८२ बुधबार ०८:०६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।