निर्वाचन आउन ४४ दिन बाँकी : आज देशभर उम्मेदवारी दर्ता

निर्वाचन आउन ४४ दिन बाँकी : आज देशभर उम्मेदवारी दर्ता

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता गरिँदै छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गराउनेछन्।

मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरिएको छ। आयोगले देशभरका निर्वाचन कार्यालयहरूमा आवश्यक जनशक्ति र सुरक्षा प्रबन्धसहित तयारी पूरा भएको जनाएको छ।

शीर्ष नेताहरूको दौडधुप
निर्वाचनका लागि राजनीतिक दलहरूले अधिकांश क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ताका लागि गृह जिल्ला झापा पुगेका छन् छ भने नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन शाह झापा र सभापति रवि लामिछाने चितवनबाट चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने यस पटकको निर्वाचनमा सहभागी नहुने बताइएको छ। टिकट पाएका धेरैजसो उम्मेदवार पनि आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।

निर्वाचन कार्यतालिका

उम्मेदवारहरूले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई मनोनयन दर्ता गराउनुपर्नेछ। मनोनयन दर्ताको प्रक्रिया सकिएलगत्तै आजै साँझ ५ देखि ७ बजेभित्र उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

उम्मेदवारको योग्यता वा अन्य विषयमा दाबी विरोध वा उजुरी दिनका लागि भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ। दर्ता भएका उजुरीहरूमाथि बुधबार दिउँसो ३ देखि ५ बजेसम्म जाँचबुझ गरी निर्णय गरिनेछ। त्यसपश्चात्, आयोगले बिहीबार साँझ ५ देखि ७ बजेभित्र उम्मेदवारहरूको नामावली पुनः प्रकाशन गर्ने कार्यतालिका छ।

शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ देखि साँझ ७ बजेभित्र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

उम्मेदवारीका लागि मापदण्ड

उम्मेदवारले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र, र सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ। सरकारी लाभको पदमा रहेका व्यक्तिले राजीनामा दिएको प्रमाण अनिवार्य गरिएको छ।

त्यस्तै, उम्मेदवारले चल-अचल सम्पत्तिको विवरण, बैंक खाता र ऋणसम्बन्धी विवरण शिलबन्दी रूपमा बुझाउनुपर्नेछ। प्रतिनिधिसभाका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने महिला, दलित, अल्पसङ्ख्यक र आर्थिक रूपमा विपन्नका लागि ५० प्रतिशत छुटको व्यवस्था छ।

आचारसंहिता 

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै मनोनयनका क्रममा तडकभडक र भिडभाड नगर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएका सबै कागजात र प्रक्रिया पूरा नगर्ने उम्मेदवारको मनोनयन रद्द हुन सक्नेछ।

विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा विघटन भएपछि रिक्त रहेका १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कुल २७५ सिटका लागि यो निर्वाचन हुन लागेको हो। मतदान फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ।

माघ ६, २०८२ मंगलबार ०७:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।