वालेनको लागि होल्ड गरेको काठमाडौँ-२ मा राप्रपाका प्रदेश सांसद रास्वपाको उम्मेदवार

वालेनको लागि होल्ड गरेको काठमाडौँ-२ मा राप्रपाका प्रदेश सांसद रास्वपाको उम्मेदवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ चुनाव जितेकी सोविता गौतमलाई जोखिमपूर्ण चितवन ३ मा लगेर काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल केसीलाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर २ मा पहिला पार्टीका वरिष्ठ नेता वालेन्द्र साहको नाम आएको थियो। पछि विपिन आचार्य उम्मेदवार बन्ने चर्चा भए पनि अन्तमा राप्रपाका प्रदेश सांसद केसीलाई राजीनामा गर्न लगाएर उम्मेदवार बनायो।

२०७९ को निर्वाचनमा सोविताले माओवादी-काङ्ग्रेस गठबन्धनकी ओनसरी घर्तीलाई हराएर प्रत्यक्षतर्फ निर्वाचन जितेकी थिइन्। सो निर्वाचनमा राप्रपाको उम्मेदवार दोस्रो भएकी थिइन् भने केसी प्रदेश ख बाट निर्वाचित भएका थिए। रास्वपाका लागि शहरी क्षेत्र सुरक्षित मानिए पनि उसले भरतपुरकी मेयर रेणु दाहालले उम्मेदवारी दिने तय भएको चितवन ३ मा सोवितालाई लगेको छ।

सो क्षेत्र यस अगाडि रास्वपाले गुमाएको थियो। माओवादीको प्रभाव बलियो रहेको सो क्षेत्रमा रेणुले भरतपुरको मेयरको रूपमा गरेको कामका कारण समेत प्रतिस्पर्धा बलियो हुने देखिन्छ। सोविताले प्रारम्भमा पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको वालेन्द्रका लागि आफू क्षेत्र छाड्न तयार रहेको बताएकी थिइन्। तर वालेन्द्र झापा ५ मा गए पनि उनी काठमाडौं २ मा उम्मेदवार बनिनन्।

चितवन ३ उनको घर हो। उनको श्रीमान् सोही क्षेत्रका स्थानीय हुन्। सोही आधार र चितवन १ र २ मा रास्वपाको बलियो माहौलका कारण जित्न सहज हुने र प्रचारमा पार्टी सभापति रवि लामिछाने पनि जान सक्ने देखेर सोविताले सो क्षेत्र रोजेको देखिन्छ। प्रारम्भमा पार्टीमा कमै महत्त्व पाउँदै आएकी सोविता पछिल्लो समय रविको कोर टिममा रहेकी छिन्। रवि हिँड्ने अधिकांश कार्यक्रमहरूमा उनी सहभागी हुने गरेकी छिन्। सोमबार उनी जनकपुरसमेत पुगेकी थिइन्।

पार्टीमा रहेका महिला नेतृहरुमध्ये डा तोसिमा कार्कीप्रति रवि सकारात्मक छैनन्। सुमना श्रेष्ठले पार्टी छाडिसकेकी छिन्। अन्य महिला नेतृहरूको तुलनामा सोविताको वाककला राम्रो रहेको र पछिल्लो समय रविको पक्षमा सामाजिक सञ्जालमा बचाउ गर्ने भएकाले पनि उनी कोर टिममा परेको देखिन्छ। 

यता काठमाडौँ २ मा राप्रपाले यस अगाडिको निर्वाचनमा सोवितालाई टक्कर दिएको कुन्तीदेवी पोखरेललाई उम्मेदवार बनाएको छ। एमालेले स्थानीय मणिराम फुयाँललाई उम्मेदवार बनाएको छ। कांग्रेसले टिकट टुङ्ग्याएको छैन। कांग्रेसबाट क्षेत्रीय सभापति करिब शर्माको नाम अगाडि छ।

माघ ६, २०८२ मंगलबार ००:५१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।