गगनको नयाँ कांग्रेसमा ससुरालीखलक मालामाल, दुई ससुरा केन्द्रीय सदस्य बन्दा तेस्रोलाई सांसदको टिकट

गगनको नयाँ कांग्रेसमा ससुरालीखलक मालामाल, दुई ससुरा केन्द्रीय सदस्य बन्दा तेस्रोलाई सांसदको टिकट

काठमाडौं : परिवर्तनका लागि विद्रोह भन्दै विशेष महाधिवेशनबाट पार्टीको सभापतिमा सर्वसम्मत बन्न सफल गगनकुमार थापाको कार्यसमितिको केन्द्रीय सदस्यको सूचीमा परे अर्जुननरसिंह केसी र डा. केदारनरसिंह केसी। अर्जुननरसिंह समानुपातिक सूचीमा खसआर्यतर्फ पहिलो नम्बरमै थिए।

गगनको ससुरा हुनुभन्दा अगाडिबाटै राजनीतिमा सक्रिय भए पनि पछिल्लो समय उमेरका कारण उनी त्यति सक्रिय हुन नसके पनि केन्द्रीय सदस्य त भए नै, गत वर्ष प्रत्यक्षबाट सांसद भएका उनी यो पाली समानुपातिकतर्फ पक्कापक्की हुनेगरी खसआर्यको पहिलो नम्बरमा बसे।

ससुरालाई समानुपातिकमा राखेको भनेर आलोचना भएपछि गगनले सामाजिक सञ्जालमा अर्जुननरसिंह केसी नातामा आफ्नो ससुरा भए पनि उनलाई समानुपातिक सूचीमा राख्नुमा भूमिका नभएको प्रस्टीकरण दिए। त्यो बेला उनी महामन्त्रीको पदमा थिए भने समानुपातिक सूची तत्कालीन सभापति शेरबहादुर देउवाले बनाएका थिए।

भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेकै बेला उता केन्द्रीय समितिको बैठक राखेर पाँच वर्ष कारबाहीको निर्णय भएपछि यता निर्वाचनको तयारी भयो। प्रारम्भमा विद्धुतिय मतदान गर्ने भनियो। पछि सर्वसम्मतको प्रयास गरियो। सभापति,उपसभापति र महामन्त्रीमा एक-एक जनाको उम्मेदवारी परेका उनीहरू निर्विरोध भए। सह-महामन्त्रीदेखि केन्द्रीय सदस्यहरूमा अधिक उम्मेदवारी परेपछि उनीहरू कमलपोखरीको एक होटलमा बसेर कार्यसमिति चयन गरे।

र त्यो कार्यसमितिमा थिए डा केदार नरसिंह केसी। केसी पेसाले चिकित्सक हुन्। पार्टीकै कोटामा नेपाल चिकित्सक संघको अध्यक्ष भएका उनी त्यसपछि जिल्लाको राजनीतिमा लागे। पहिल्यै अर्जुन र अर्का जगदीश नरसिंहको जगजगी थियो नै। दुवैको जिल्ला अध्यक्षको कोटा सकिएपछि गत महाधिवेशनमा उनी केसी समूहबाट जिल्ला सभापतिको उम्मेदवार बनेर महत समूहका उम्मेदवार रमेश महतबाट पराजित भएका थिए।

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विद्रोह गरेर कांग्रेस रुपान्तरणका लागि गगनलाई सभापति बनाएको लाभ डा केसीले पाए। अन्य युवा नेताहरूलाई पाखा लगाउँदै उनी केन्द्रीय सदस्य भए। तेस्रो ससुरा जगदीश नरसिंह केसी यस अगाडि पनि समानुपातिकबाट सांसद भएका थिए। उनी केन्द्रमा अटेका थिएनन्। तर सोमबार गगन थापाले आफ्नै हस्ताक्षरमा उनलाई नुवाकोट क्षेत्र नम्बर २ को टिकट दिए।

नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशशरण महतले टिकट पाए। उनका दाजु प्रकाशशरण महत नुवाकोटबाट पटक-पटक सांसद बन्दै आएका थिए। स्वास्थ्यका कारण अहिले उनी निष्क्रिय छन्। केसी परिवारका अर्का सदस्य पनि राजनीतिमा छन् बद्री नरसिंह केसी। उनी राप्रपातिर छन्। 

माघ ५, २०८२ सोमबार २१:३५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।