रिट फिर्ताको विषय झुटो, कांग्रेसको देउवा पक्षद्वारा खण्डन

रिट फिर्ताको विषय झुटो, कांग्रेसको देउवा पक्षद्वारा खण्डन

काठमाडौं : पार्टीको आधिकारिकताका लागि सर्वोच्च अदालत पुगेको नेपाली कांग्रेसको असन्तुष्ट समूहले रिट निवेदन फिर्ता लिनेबारे समाचारको खण्डन गरेको छ। पार्टीका पूर्व सभापति शेरबहादुर देउवाको सचिवालय र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै स्पष्टीकरण दिँदै रिट फिर्ता लिने सहमति नभएको स्पष्ट पार्यो।

पूर्व सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार एक प्रेस नोट जारी गर्दै केही सञ्चारमाध्यममा आएका समाचारहरू 'गलत र भ्रामक' भएको बताए। प्रेस नोटमा भनिएको छ, "नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही सञ्चारमाध्यमहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ।"

त्यसैगरी, कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्दा फिर्ता नहुने प्रस्ट पारेका छन्। निर्वाचन आयोगको निर्णयविरुद्ध न्यायका लागि अदालत गएको उल्लेख गर्दै उनले भनेका छन्, "२०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रूपमा असत्य भएको म स्पष्ट पार्न चाहन्छु।"

नेता खड्काले संवेदनशील विषयमा प्रत्यक्ष सम्पर्क र सत्यतथ्य बुझाइ नगरी अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरे। पार्टीको आधिकारिकताका विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई दिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। तर, सोमबार पार्टीमा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति भई चुनावमा एकढिक्का भएर जाने र अदालतको रिट फिर्ता लिने समझदारी भएको भन्ने चर्चा चलेपछि नेतृत्व तहबाट यसको कडा खण्डन आएको हो। 

माघ ५, २०८२ सोमबार २१:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।