देउवा र कोइराला दुवै समूहका नेता समेट्दै गगनले दिए टिकट, आरजु आउट, प्रकाशशरण छुटेनन्
काठमाडौं : आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाउन थालेको छ। अन्य दलहरूले अधिकांश स्थानको उम्मेदवार तोकिसकेका छन्। कांग्रेसले भने बल्ल सोमबार मध्यान्हबाट उम्मेदवार तोक्न थालेको हो।
संसदीय बोर्डको बैठकबाट पार्टी सभापति गगन कुमार थापाले विभिन्न जिल्लाका उम्मेदवारहरूलाई उम्मेदवारीको टिकट (मनोनयन पत्र) दिन थालेका छन्। सोमबार मध्यान्हसम्म कांग्रेसले गुल्मीको क्षेत्र नम्बर १ मा डा. चन्द्र भण्डारीलाई पुनः उम्मेदवार बनाएको छ। उनी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए।
गुल्मी क्षेत्र नम्बर २ मा कांग्रेसले भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ। लुम्बिनी प्रदेश उपसभापति रहेका उनी २०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको मेयर र २०७९ मा गुल्मी २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए।
कैलाली क्षेत्र नम्बर ५ मा सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह 'मनु' लाई उम्मेदवार बनाएको छ। सो क्षेत्रबाट पूर्वमन्त्री आरजु राणा देउवासहितको नाम सिफारिस भए पनि पार्टीले शाहलाई टिकट दिएको हो। कैलालीको १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भीम बडुवाल र ४ मा वीर बहादुर बलायरले टिकट पाएका छन्।
बागमती प्रदेशअन्तर्गत नुवाकोट १ मा प्रकाशशरण महत, काठमाडौं ३ मा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र काभ्रे २ मा मधु आचार्य उम्मेदवार बनेका छन्। गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार भएका छन्।
कोशी प्रदेशमा भने कांग्रेसले अधिकांश 'नयाँ अनुहार'लाई प्राथमिकता दिएको छ। ओखलढुङ्गाबाट रामहरि खतिवडा बाहेक अन्य १३ क्षेत्रमा नयाँ उम्मेदवार तय गरिएको छ, जसमा धनकुटाका दिनेश राई, तेह्रथुमका सन्तोष सुब्बा, पाँचथरका नरेन्द्र केरुङ र इलाम २ का भेषराज आचार्य उम्मेदवार भएका छन्। मोरङ ३ बाट सुनिल शर्मा नै पुनः उम्मेदवार बनेका छन्।
लुम्बिनी र कर्णालीका पहाडी जिल्लाहरूमा पनि कांग्रेसले युवा र बौद्धिक व्यक्तित्वलाई अघि सारेको छ। प्युठानमा डा. गोविन्दराज पोखरेल, रोल्पामा डा. सुदन ओली र रुकुम पूर्वमा कुसुमदेवी थापामगर उम्मेदवार बनाएको छ। कर्णालीमा जुम्लाबाट दीपबहादुर शाही र सल्यानबाट केशबहादुर विष्ट उम्मेदवार बनेका छन्। बाँकी निर्वाचन क्षेत्रको उम्मेदवार आज मध्यरातसम्म टुंगो लगाइसक्ने कांग्रेसले जनाएको छ।
माघ ५, २०८२ सोमबार २०:५२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।