सरकारले मुद्दा फिर्ताको सहमति गरेका दुर्गा प्रसाईं पोखराबाट पक्राउ
काठमाडौं : सरकारले केही दिन अगाडि संविधान संशोधनका लागि आयोग बनाउने अनि संगठित अपराधसहितको अभियोग फिर्ता लिने सहमती गरेका मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई सोमबार प्रहरीले पोखरामा पक्राउ गरेको छ।
पोखराको लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्कने क्रममा उनलाई चाउथेस्थित एयरपोर्ट चोकबाट नियन्त्रणमा लिइएको हो। प्रसाईँले ५२ करोडको खेलमा निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको दाबी गर्दै भिडियो सार्वजनिक गरेका थिए।
उनको दाबीपछि निर्वाचन आयोगले साइबर अपराधमा कार्वाही गर्न उजुरी दिएको थियो। त्यही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले प्रसाईंलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै भने, “उहाँलाई भर्खरै नियन्त्रण लिएका हौं। पोखराको एयरपोर्ट चोकबाट नियन्त्रणमा लिएर हामी काठमाडौँ पठाउँदैछौं।”
प्रसाईं नेतृत्वको समूहले माघ २ गते सरकारसँग सम्झौता गरेपछि आफ्ना आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको थियो। पक्राउ परेका प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ।
माघ ५, २०८२ सोमबार १७:१०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।