जनकपुर पुगेर प्रदेशको पक्षमा उभिए बालेन, अधिकारका लागि काठमाडौं जाने नभई घुम्न जाने बनाउनुपर्ने तर्क
काठमाडौं : मेयरको रूपमा प्रदेशको विपक्षमा देखिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अधिकार माग्न काठमाडौं जानु नपर्ने गरी बलियो बनाउनुपर्ने भन्दै पक्षमा उभिए। स्थानीय तहको प्रमुखको रूपमा राष्ट्रिय सभाको निर्वाचनमा उनले मताधिकार प्रयोग गरेका थिए।
प्रदेश सरकारबारे रास्वपाको धारणामाथि समेत प्रश्न उठिरहेको बेलामा पहिलो पटक राजनीतिक मञ्चमा बोलेका बालेन्द्रले आफू जनकपुरवासी अधिकार माग्न काठमाडौं जानुपर्ने प्रदेशको संरचना बदलेर अधिकारसम्पन्न बनाउनुपर्ने पक्षमा बोले।
"काठमाडौं पशुपति घुम्न जानु, स्वयम्भू घुम्न जानु तर अधिकार माग्न नजानु" उनले भने" यसका लागि प्रदेश बलियो बन्नुपर्छ।"
उनले प्रदेशको काम ५० हजारको धारा बनाउने नभएको र काठमाडौँ महानगरपालिकाको मेयर भएर पनि अन्य प्रदेशहरूमा एम्बुलेन्स बाँड्न सकेको भन्दै उनले भने "काठमाडौंको मेयर हुँदा त यति काम गर्न सकेँ भने संघीय सरकारमा गएँ भने के-के काम गरौँला !"
उनले काठमाडौंको माइतीघरमा कहिले मिटर ब्याज पीडित त कहिले उखु किसानहरू आन्दोलनमा उत्रिने गरेको भन्दै चाहेर पनि महानगरको मेयरको रूपमा मधेसको पक्षमा काम गर्न नसके पनि आफू सधैँ मधेसको पक्षमा रहेको बताए। उनले मधेसलाई अधिकारसम्पन्न बनाउनु पर्ने बताए।
मैथली र नेपाली भाषा मिसाएर सम्बोधन गर्दै उनले महानगरको मेयरको रूपमा आफूले पाटीपौवा, ढुंगेधारा र पोखरीको पुनर्निर्माण गरेको र जनकपुरको पोखरीले समेत यस्तै काम गर्ने खोजिरहेको भन्दै अब यस्तो काम रास्वपाले गर्नसक्ने बताए। उनले सम्बोधनको अन्तिममा भने"जय मधेस, जय देश, जय घण्टी।"
काठमाडौंको मेयरका रूपमा गरेको काम सम्झिए पनि उनले आफूलाई मेयरका रूपमा निर्वाचित गर्ने महानगरका मतदातालाई भने जनकपुरमा पनि सम्झिएनन्। उनी आइतबार महानगरको बिदाइ कार्यक्रममा समेत सहभागी भएनन् र काठमाडौंका मतदातालाई धन्यवाद समेत दिएका छैनन्।
माघ ५, २०८२ सोमबार १६:४१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।