आज तराईमा हुस्सु, पहाडमा आंशिक बदली : बिहीबारदेखि वर्षा र चिसो बढ्ने सम्भावना

आज तराईमा हुस्सु, पहाडमा आंशिक बदली : बिहीबारदेखि वर्षा र चिसो बढ्ने सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने भए पनि तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा भने मौसम सफा रहने अनुमान गरिएको छ। तराईका जिल्लाहरूमा भने दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले जनजीवनमा सामान्य प्रभाव पर्न सक्छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने क्रम जारी रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भेगमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

हाल मौसम सफा देखिए पनि केही दिनपछि पश्चिमी वायुको नयाँ प्रणाली भित्रिने संकेत देखिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार बिहीबारदेखि मौसममा परिवर्तन आउने सम्भावना छ।

पोखरेलले भने, ‘बिहीबारदेखि अर्को पश्चिमी वायुले चिसोसँगै वर्षा पनि ल्याउने राम्रो सम्भावना छ।’

यो नयाँ मौसमी प्रणाली भित्रिएसँगै देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने र चिसो अझ बढ्ने अनुमान गरिएको छ। तसर्थ, आगामी साता चिसोबाट बच्न र सतर्कता अपनाउन सुझाव दिइएको छ।

माघ ५, २०८२ सोमबार ०९:३५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।