ग्रीनल्याण्डको समर्थनमा युरोपका ८ देशद्वारा संयुक्त सैन्य अभ्यास, ट्रम्पको भन्सार नीतिको विरोध
एजेन्सी : ग्रीनल्याण्डको समर्थनमा युरोपका आठ देशले संयुक्त सैन्य अभ्यास गरेका छन्। डेनमार्कको विदेश मन्त्रालयले एक संयुक्त विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो।
उक्त सैन्य अभ्यासमा डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्विडेन र बेलायत सहभागी भएका थिए।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेटो सदस्यका रूपमा हामी साझा ट्रान्सएट्लान्टिक हितलाई ध्यानमा राख्दै आर्कटिक क्षेत्रको सुरक्षालाई बलियो बनाउन प्रतिबद्ध छौँ। पहिले नै योजना गरिएको आर्कटिक इन्डुरेन्स अभ्यास सहयोगी देशहरूसँग मिलेर गरिएको डेनमार्कको अभ्यास हो र यसले कसैलाई पनि खतरा पुर्याउने उद्देश्य राखेको छैन।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी डेनमार्क र ग्रीनल्याण्डका जनतासँग पूर्ण ऐक्यबद्धताका साथ उभिएका छौँ। हामी सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको बलियो समर्थन गर्छौं र सोही आधारमा वार्ताका लागि तयार छौँ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मात्रै यी आठ देशहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। संयुक्त विज्ञप्तिमा यस विषयमा पनि टिप्पणी गरिएको छ।
देशहरूले भनेका छन्, ‘ट्यारिफ वा कर वृद्धिको धम्कीले ट्रान्सएट्लान्टिक सम्बन्धलाई कमजोर बनाउँछ र जोखिम बढाउँछ। हामी यसको प्रतिक्रियामा एकजुट र समन्वित भएर उभिनेछौँ। हामी आफ्नो सार्वभौमसत्ता कायम राख्न प्रतिबद्ध छौँ।’
पछिल्ला दिनहरूमा अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्नुपर्ने वा किन्नुपर्ने कुरामा जोड दिँदै आएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्याण्ड आवश्यक भएको उनको दाबी छ। यदि अमेरिकाले यसलाई आफ्नो अधिनमा नलिने हो भने चीन र रुसले त्यहाँ कब्जा गर्न सक्ने उनको भनाइ छ।
ट्रम्पको यस्तो भनाइको डेनमार्क लगायत युरोपका धेरै देशहरूले विरोध गरेका छन्। स्मरण रहोस्, ग्रीनल्याण्ड डेनमार्क अन्तर्गतको एक अर्ध-स्वायत्त टापु हो, जसको आफ्नै सरकार छ।
माघ ५, २०८२ सोमबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।