पूर्णबहादुरले लेखे ' स्वतन्त्र उठ्ने वा दल खोल्ने अफवाह, रुख बाहेक अन्य सोच्न सकिन्न'
काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुने वा नयाँ दल खोल्ने अफवाह भएको भन्दै रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न नसकिने लेखेका छन्। उनले सामाजिक सञ्जालमा आइतबार बेलुका रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न नसकिने लेखेका छन्।
विशेष महाधिवेशनको विपक्षमा रहेका खड्का अहिले निर्वाचन आयोगको मान्यताको विरोधमा कानुनी लडाइको कमान्डर बनेका छन्। उनले पार्टीको तर्फबाट आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए भने चुनावी कार्यतालिका स्थगन गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए।
आइतबार साँझ सामाजिक सञ्जालमा खड्काले लेखे 'रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ। नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम आदरणीय मतदाताहरूमा अनुरोध र अपिल गर्दछु।'
उनले निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णय अनुसार न्याय पाउने विश्वासका सर्वोच्च अदालत गएको लेखेका छन्।
माघ ४, २०८२ आइतबार २२:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।