ओलीको कोपभाजनमा पर्दा योगेश र गोकुलले सांसद टिकट पाएनन्, काभ्रे-२ मा ब्याञ्जु, ताप्लेजुङमा थेवे
काठमाडौं : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगाउने क्रममा केही अप्रत्याशित निर्णयहरू गरेको छ। पार्टीले प्रभावशाली नेताहरूलाई पन्छाउँदै नयाँ अनुहारलाई अवसर दियो तर त्यसमा सुधारभन्दा अध्यक्ष केपी ओलीको प्रतिशोध देखियो।
अप्रत्याशित निर्णय ताप्लेजुङको थियो। एमालेभित्र फरक छवि निर्माण गरेका र कमै विवादमा आउने नेता योगेश भट्टराईले यस पटक सांसदको टिकट पाएनन्। उनको निर्वाचन क्षेत्रबाट राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले उम्मेदवारी पाए।
शनिवार भट्टराइको क्षेत्रबारे निर्णय नगरी अध्यक्ष ओलीले होल्ड राखेका थिए। पार्टीको उपमहासचिव निर्वाचित भट्टराइले शनिबारको बैठकमा टिकट वितरण पद्धति अनुसार नभएको भन्दै नोट अफ डिसेन्ट लेख्ने बताएका थिए। आइतबार नोट अफ डिसेन्टको पत्र पनि बुझाए।
आइतबारै उनको ठाउँमा ओलीले आफू निकट नेता थेबेलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरे।
काभ्रेपलान्चोक क्षेत्र नम्बर २ मा पनि एमालेले यस्तै निर्णय गर्यो। यसअघि सो क्षेत्रबाट उम्मेदवार बन्दै आएका गोकुल बास्कोटालाई टिकट नदिई अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाइएको छ। काभ्रे २ बारे पनि शनिबारको सचिवालय बैठकले टुंगो लगाउन सकेको थिएन। त्यसपछि टिकट कसलाई दिने अधिकार ओलीले लिएका थिए।
बास्कोटाले महाधिवेशनमा ईश्वर पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिएर पराजित भएका थिए। उनी कुनै समय ओलीको सबैभन्दा विश्वासपात्र थिए। ओली प्रधानमन्त्रीहुँदा सञ्चारमन्त्री बनेका उनी ओलीको बालकोटमा रहेको घर कुर्नसम्म बसेका थिए।
शनिवार बसेको सचिवालय बैठकले ओखलढुङ्गाबाट अस्मिता थापालाई उम्मेदवारी बनाउने निर्णय गरेपछि त्यहाँ पनि विवाद चर्किएको छ। थापा लिखु गाउँपालिकाका उपाध्यक्ष हुन्। उनको निर्णयमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले असन्तुष्टि जनाउँदै विज्ञप्ति नै निकालेका छन्।
शनिवार बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरे पनि आइतबार बदलिएको छ। यी ठाउँमा अब कञ्चनपुर-१ मा विघटित प्रतिनिधि सभा सदस्य तारालामा तामाङ र बझाङमा पार्टी केन्द्रीय सदस्य ऐन महर उम्मेदवार बन्ने भएका छन्। महर साइबर अपराधदेखिका विषयमा विवादित छन्।
उता पाल्पा-२ बाट उम्मेदवार सिफारिस भएका विष्णु पौडेल रुपन्देही-२ मै फर्किएका छन्। शनिवार उनको नाम पाल्पा २ मा राखिएको थियो। सो क्षेत्रबाट गत वर्ष ठाकुर गैरे उम्मेदवार बनेर जितेका थिए।
एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् भने ईश्वर समूहका विनोद ढकालले मोरङ क्षेत्र नम्बर ६ मा टिकट पाएका छन्। काठमाडौं ५ मा इश्वर पोखरेल उम्मेदवार बन्ने या अन्य भन्ने निर्णय भएको छैन। काठमाडौंको ४ र ५ बारे पनि निर्णय भएको छैन।
माघ ४, २०८२ आइतबार २२:३६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।