प्रचण्डले क्षेत्र छाडेपछि गोर्खा-२ मा फर्किए बाबुराम
काठमाडौं : डा. बाबुराम भट्टराइले फागुन २१ को निर्वाचनमा गोर्खा २ बाट उम्मेदवारी दिने भएका छन्। गत वर्ष बाबुरामले सो क्षेत्र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छाडेर काठमाडौंमा छोरीका लागि सांसदको टिकट लिएका थिए। तर उनकी छोरी पराजित भइन्।
फागुन २१ को निर्वाचनका लागि प्रचण्डले गोर्खाको क्षेत्र छाडेका छन्। आइतबार बाबुरामले सामाजिक सञ्जालमा लेख्दै गोरखा-२ का “पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै” आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह 'खुलेको आँखा' लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको लेखेका छन्।
गोर्खा-२ मा एमालेले आपराधिक पृष्ठभूमिका चक्रे मिलन भनिने मिलन गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपानेले टिकट पाएका छन्। रास्वपाले कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाएको छैन।
माघ ४, २०८२ आइतबार २१:११:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।