हर्क साम्पाङको साढे तीन वर्ष : श्रमको 'मास्टरस्ट्रोक' तर पद्धतिमा अराजक

हर्क साम्पाङको साढे तीन वर्ष : श्रमको 'मास्टरस्ट्रोक' तर पद्धतिमा अराजक

काठमाडौं : नेपाली राजनीतिको परम्परागत व्याकरणलाई चुनौती दिँदै एउटा व्यक्ति कसरी राष्ट्रिय बहसको केन्द्रमा आइपुग्छ? यसको बलियो उदाहरण बने हर्क साम्पाङ। धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर जितेको उनको कार्यकाल हेर्ने हो भने सकारात्मक भन्दा नकारात्मकै बढी देखिन्छ।

महानगरमा उपमेयरदेखि वडाध्यक्षसँग विवाद गरेकै उनले आफ्नो कार्यकाल बिताए। सामाजिक सञ्जालमा उद्दण्ड स्वभाव देखाउन सक्रिय उनी जेनजी आन्दोलनपछि कहिले प्रधानमन्त्री त कहिले मन्त्री बन्ने भन्दै काठमाडौँ धाइरहे। अन्तमा मन्त्री पनि हुन नसकेपछि धरान फर्किएका उनले फागुन २१ को निर्वाचनबाट प्रधानमन्त्री बन्ने भन्दै आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गर्दै उनले आइतबार राजीनामा दिएर बिचैमा मेयरको कार्यकाल टुङ्ग्याएका छन्। साढे तीन वर्षअघि 'लौरो' चिह्न लिएर सुरु भएको उनको यात्रा अब संसद्को 'नीति निर्माण' तहसम्म पुग्ने दाउमा छ।

सडकबाट सत्तासम्म

साम्पाङको उदयको पृष्ठभूमि धरानका स्थापित दलहरू (एमाले र कांग्रेस) प्रतिको वर्षौँदेखिको नागरिक असन्तुष्टिको विस्फोट थियो। काठमाडौंमा स्वतन्त्र उम्मेदवारको रूपमा बालेन शाह जसरी सक्रिय भए धरानमा साम्पाङ पनि उसरी नै सक्रिय भएका थिए। दुवैको चुनाव चिन्ह पनि एकै ‘लौरो’।

उनी वर्षौँदेखि धरानका सडकमा खानेपानीको अभाव, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति र भ्रष्टाचार विरुद्ध एक्लै चिच्याइरहे। साम्पाङले २०७९ को स्थानीय निर्वाचनमा २० हजार ८ सय २१ मत ल्याएर जितेका थिए।

सधैँ झोला बोकेर, मोटरसाइकलमा एक्लै हिँड्ने र फेसबुक लाइभबाट सिधा संवाद गर्ने उनको शैलीले युवा पुस्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई यति प्रभाव पार्यो कि, उनले ठूला दलका 'हेभीवेट' उम्मेदवारहरूलाई स्तब्ध पारिदिए।

उनी अब स्थानीय निर्वाचनको नतिजा दोहोर्याएर सांसद हुने मात्रै हैन पार्टीलाई नै नेतृत्व गरेर देश चलाउने भन्दै सक्रिय भएका छन्। पूर्वमा उनको प्रभाव अन्य नयाँ दलको भन्दा बलियो छ।

कार्यकालका 'मास्टरस्ट्रोक': श्रमदान र खानेपानी

धरानको सबैभन्दा ठूलो समस्या नै खानेपानीको समस्या हो। उनको उदयको एक कारण पानी नै देखिन्छ। यसको समाधानका लागि उनले ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट ९८ दिनसम्म ढुङ्गा बोकेर, पाइप बिछ्याएर पानी ल्याए। उनले यसका लागि सरकारी बजेटभन्दा ७ करोडभन्दा बढी जनसहयोग र श्रमदानलाई परिचालन गरे।

मन्त्री र उच्चपदस्थहरू भेट्न आउँदा पनि हातमा औजार लिएर ढुङ्गा बोक्दै गरेका भेटिने साम्पाङले 'कामको सम्मान' गर्ने नयाँ संस्कारको सुरुवातको प्रयास गरे। उनले हरेक शनिवार श्रमदान गर्ने अभियानलाई एउटा 'पन्थ' जस्तै स्थापित गरे।

उनले आफ्नो कार्यकालमा १० लाख बिरुवा रोप्ने अभियान अगाडि बढाएर धरानका उजाड डाँडाहरूमा हरियाली फर्काउने जग बसाले।

पुँजीगत खर्चमा कमजोर

साम्पाङले नेतृत्व सम्हालेपछि धरानको बजेटमा ठूलो उतारचढाव देखियो। उनले आफ्नो कार्यकालको पहिलो पूर्ण बजेट (आ.व. २०७९/८०) मा १ अर्ब ६८ करोड सार्वजनिक गरेका थिए। आज उनको बहिर्गमन हुँदै गर्दा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब २० करोडको बजेट प्रस्तुत गरेका छन्।

साम्पाङले धरानबाट जनश्रमदानमार्फत विकास गर्ने मोडल त ल्याए, तर सरकारी संयन्त्र र कार्यपालिकाको बहुमतसँग उनको 'इगो' को लडाइँले गर्दा पुँजीगत खर्चमा सधैँ अवरोध सिर्जना भयो। आ.व. २०८०/८१ र २०८१/८२ मा त कार्यपालिका बैठक नै बस्न नसक्दा धरानले 'बजेट होलिडे' जस्तो गम्भीर आर्थिक संकट भोग्नुपर्यो।

उनले ढुङ्गा, गिट्टी, बालुवाको कर संकलनमा कडाइ गरेर आन्तरिक आय बढाउने प्रयास गरे। तर, ८० करोड आन्तरिक राजस्व उठाउने उनको महत्त्वाकाङ्क्षी लक्ष्य सधैँ ३०-३५ करोडको वरिपरि खुम्चियो।

तर उनको कार्यकाल त्यत्तिकै विवादित पनि भइरहे। विवादको मुख्य जड उनको अराजक शैली मुख्य कारक देखियो। महानगरमा होस् या सामाजिक सञ्जालमा होस् उनको स्वभाव सधैँ विवादितै देखियो। नयाँ परियोजनाहरू त ल्याए तर ती सबै आर्थिक पारदर्शितामा चुके।

'पपुलिज्म' कि अराजकता ?

साम्पाङ प्राय "मलाई जनताले जिताएका हुन्, म नियम-कानुन मान्दिनँ" भन्थे। कतिपय पूर्वाधार निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन पनि नगरी काम गर्दा वन कार्यालय र अदालतसँग उनको बारम्बार टक्कर पर्यो।

जातीय र धार्मिक संवेदनशीलतामा प्रहार : धरान जस्तो बहुसांस्कृतिक शहरमा उनले फेसबुकमार्फत कतिपय समुदायको भावनामा ठेस पुग्ने टिप्पणी गरे। मन्दिर र चर्चको विवादमा उनले लिएको 'जिद्दी' अडानले धरानको सामाजिक सद्भावलाई नै जोखिममा पारेको थियो। सामाजिक सद्भाव कायम राख्ने पक्षमा उनी कमजोर मात्रै हैन अराजकै देखिएका थिए।

कर्मचारीमाथि दुर्व्यवहार : कर्मचारीहरूलाई सार्वजनिक रूपमै गाली गर्ने, अपमान गर्ने र 'हप्कीदप्की' गर्ने शैलीले गर्दा धरानको प्रशासनिक मनोबल निकै तल झर्यो। उनले साढे तीन वर्षमा दर्जनौँ पटक प्रमुख प्रशासकीय अधिकृतहरू फेर्नुपर्ने अवस्था सिर्जना गरे। उपमेयर र वडाध्यक्षसँग बैठकमा चर्काचर्की हुनु त सामान्य दृश्य बन्यो धरानमा।

उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूसँगको निरन्तरको द्वन्द्वले गर्दा धरान उपमहानगरपालिका महिनौँसम्म अनिर्णयको बन्दी बन्यो। समयमा बजेटसम्म ल्याउन सकेनन्।

अधुरा सपना

पाँच वर्षीय कार्यकाल रहे पनि सांसद अनि प्रधानमन्त्री बन्ने सपना बोकेर उनले बिचैमा महानगर प्रमुखको जिम्मेवारी छाडे। उनको राजीनामासँगै धरानका केही ठूला सपनाहरू अलपत्र परेका छन्।

उनले चुनावी घोषणापत्रमा ठूलो स्वरमा बोलेको बसपार्क निर्माण प्रक्रिया अधुरै छ। बीपी प्रतिष्ठानको सुधारका लागि  प्रतिष्ठानभित्रको राजनीतिक बेथिति हटाउन उनले प्रयास त गरे, तर संस्थागत सुधार गर्न सकेनन्। उनको प्रयास विवादमै समेटियो।

फोहोरमैला व्यवस्थापन गर्न उनले धरानको फोहोरबाट मोहर निकाल्ने भन्दै 'ग्यास प्लान्ट' र फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाएका थिए। तर ती कुनै योजना अगाडि बढेन।

"मैले धरानमा एउटा सानो झिल्को बालेको छु, अब देशैभरि श्रम संस्कृतिको आगो बाल्नुछ," भन्दै हिँडेका साम्पाङले मेयरबाट राजीनामा दिएर संसद् हुने यात्रा रोजेका छन्। सुनसरी-१ का मतदाताले उनलाई संसद् पठाउलान् कि 'अधुरा काम छाडेर भागेको' आरोप लगाउलान्? यसको छिनोफानो आगामी फागुन २१ गते हुने नै छ।

माघ ४, २०८२ आइतबार २०:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।