नेकपाले लुम्बिनीमा टुंग्यायो उम्मेदवार

नेकपाले लुम्बिनीमा टुंग्यायो उम्मेदवार

बुटवल : नेपाली कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी एकताको सन्देशसहित एकतामा समेटिएका विभिन्न दलका नेताहरूलाई समेट्दै नेकपाले प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम घोषणा गरेको हो।

नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' यस पटक रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन्। यो उनको पाँचौं पटकको निर्वाचन क्षेत्र परिवर्तन हो। गएको निर्वाचनमा यक्ष क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका थिए। उनले १२ हजार २६२ मत प्राप्त गरेका थिए।

प्रचण्ड भने गोरखा- २ बाट निर्वाचन भएका थिए। चुनाव जित्ने सुरक्षित क्षेत्रका रूपमा उनी यस पटक माओवादी सशस्त्र संघर्षको उद्गम थलो रुकुम पूर्व पुगेका हुन्। त्यस्तै पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र- १ बाहेक सबै क्षेत्रमा उम्मेदवार टुंगायो। निर्वाचन क्षेत्र- २ मा विश्वदीप पाण्डे, ३ मा फैयाद खान, ४ मा बावुलाल यादव र ५ मा वकिल मुसलमानको उम्मेदवारी टुंगो लगाएको छ। पश्चिम नवलपरासी- १ सिन्धु जलेसा र २ मा देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ।

३ निर्वाचन क्षेत्र रहेको दाङबाट नेकपाले अहिलेसम्म ३ को मात्र उम्मेदवारी टुंगाएको छ। त्यहाँ धनबहादुर मास्कीको नाम टुंगो लगाएको हो। १ र २ को भने टुंगाउन बाँकी छ। गएको निर्वाचनमा १ बाट गठबन्धनका उम्मेदवार मेटमणि चौधरी विजयी भएका थिए। अहिले सो क्षेत्रमा उनी दोहोरिन चाहेका छन्। तर लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले पनि सोही क्षेत्रबाट चुनाव लड्ने भएपछि प्रचण्ड अहिले पनि छलफलमै छन्। 

केसीले पार्टीले टिकट नदिए स्वतन्त्र भएपनि निर्वाचनमा उठ्ने बताएका छन्। २ मा टुंगाउन बाँकी छ। गएको निर्वाचनमा सो क्षेत्रबाट माओवादीकी रेखा शर्मा विजयी भएकी थिइन। उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन।

त्यस्तै कपिलवस्तुबाट कृष्ण कुँवरको नाम टुंगिएको छ। अझै २ र ३ भने टुंगाउन बाँकी छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा वर्षमान पुनले चुनाव लड्ने भएका छन्। गएको निर्वाचनमा उनी भार मतका साथ विजयी भएका थिए। उनले  ४१ हजार ७१४ मत प्राप्त गर्दा एमालेका पूर्ण बुढा मगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए।

प्युठानबाट भोजविक्रम बुढा उम्मेदवार बन्नेछन्। सो क्षेत्रबाट गएको निर्वाचनमा एमालेका सूर्य थापा विजयी भएका थिए। त्यस्तै अर्घाखाँचीबाट रामबहादुर चौहानको नाम टुंगिएको छ।

गुल्मी- १ मा तत्कालीन माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सुदर्शन बराल चुनाव लड्ने भएका छन्। सो क्षेत्रबाट गएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका थिए। त्यस्तै गुल्मी- २ मा प्रचण्डको सचिवालयमा काम गरिसकेका नेता बुद्धि बहादुर जिसीको नाम टुङ्गिएको छ। सो क्षेत्रबाट गएको निर्वाचनमा एमालेका गोकर्ण विष्ट विजयी भएका थिए।

३ निर्वाचन क्षेत्र रहेको पाल्पाबाट १ मा होमबहादुर सुनारी र २ बाट सोमप्रसाद पाण्डेको नाम टुंगिएको छ। पाल्पा- ३ को भने टुंगिन बाँकी छ। पाण्डे गएको निर्वाचनमा एमालेका उम्मेदवार ठाकुर गैरेसँग पराजित भएका थिए। सो क्षेत्रमा यस पटक एमालेले उपाध्यक्ष विष्णु पौडेललाई टिकट दिएको छ।

त्यस्तै बर्दिया १ बाट बामदेव गौतमले चुनाव लड्ने आकांक्षा देखाएका छन्। यद्यपि टुंगिन भने बाँकी छ। त्यस्तै बर्दिया- २ को पनि टुंगिन बाँकी छ। ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा पनि टुंगिन बाँकी छ।

माघ ४, २०८२ आइतबार १५:२४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।