विष्णुको 'यु-टर्न' : तीन दशकपछि रुपन्देहीको संकट टार्न पाल्पाको शरणमा

विष्णुको 'यु-टर्न' : तीन दशकपछि रुपन्देहीको संकट टार्न पाल्पाको शरणमा

बुटवल : २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पाल्पाबाट जितेर संसदीय राजनीतिमा उदाएका एमालेका उपाध्यक्ष विष्णु पौडेल त्यसको ठ्याक्कै तीन दशकपछि पुनः चुनाव लड्न पाल्पा फर्कँदै छन्।

निरन्तर रुपन्देही- २ बाट उम्मेदवार बन्दै आएका पौडेललाई यति बेला फेरिएको राजनीतिक समीकरण, 'जेनजी' मतदाताको बदलिँदो मनोविज्ञान र प्रादेशिक राजधानी स्थानान्तरणले सिर्जना गरेको असन्तुष्टिका कारण नयाँ विकल्प खोज्न बाध्य पार्यो।

उनी फागुन २१ को निर्वाचनका लागि रुपन्देही- २ बाट एकल सिफारिसमा परे पनि सुरक्षित भूगोलको खोजीमा आफ्नो राजनीतिक उदयको थलो पाल्पा- २ फर्कने निर्णयले उनी केही सुरक्षित त भए होलान् तर रुपन्देही एमालेभित्र भने नकारात्मक तरंग जन्माएको छ।   

रुपन्देही किन छाडे ?

एमालेको बलियो पकड क्षेत्र मानिएको रुपन्देही- २ मा  २०७९ सालको निर्वाचनताका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलसँग जम्मा १ हजार ३७० मतान्तरले विजयी भएका थिए। जेनजी आन्दोलनले यस पटक पार्टीको माहोल झन् बिग्रिएको छ। यसले उनले सुरक्षित महसुस गर्न सकेनन्।

१० हजार बढी संगठित सदस्य रहेको यस क्षेत्रमा आगामी चुनावमा अझ मत परिवर्तन हुनसक्ने आँकलन गरे। जेनजी आन्दोलनपछि पार्टीकै माहोल बिग्रिएको उनको बुझाइ देखियो। यो क्षेत्रभन्दा पाल्पा-२  सुरक्षित हुनसक्ने देखेपछि उनी निर्वाचन क्षेत्र परिवर्तन गर्न बाध्य भए।

सो क्षेत्रमा कांग्रेस पनि बलियो देखिन्छ।  गएको स्थानीयको निर्वाचनमा बुटवलबाट कांग्रेसका खेलराज पाण्डेय विजयी भएका थिए। उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्याल विजयी भइन्। कुल १९ वटा वडा रहेको बुटवलमा रुपन्देही-२ मा १ देखि १३ सम्मका वडा पर्छन्। गएको निर्वाचनमा पाँच वटा वडा (१०, ११, १४, १८, १९) मात्र एमालेले जितेको थियो। जसमध्ये १० र ११ मात्र रुपन्देही-२ मा पर्छन्।

राजधानी साट्दाको संकट

पौडेललाई ०७९ सालकै निर्वाचनमा ‘पदसँग राजधानी साटेको’ आरोप लाग्यो। प्रदेशको अस्थायी राजधानी बुटवलमा थियो। अन्य ६ प्रदेशको राजधानी साबिककै ठाउँमा हुँदा रुपन्देही भने स्थायी राजधानी बन्न सकेन। एमालेका महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीकै जोडबलमा राजधानी दाङ पुग्यो।

यसले पनि यहाँका मतदाताको चित्त दुखेको छ। जसको परिणाम पनि ०७९ सालको मत परिणाम हो भन्ने कतिपय एमालेकै नेताहरुको बुझाई देखिन्छ। त्यो बेला धेरै मतदाताले राजधानी सर्नुमा पौडेलकै दोष देखाउँदै मतपत्रमा अशन्तुष्टी देखाएका थिए। 

पाल्पाबाटै सुरु गरेका थिए संसदीय यात्रा

पौडेलले संसदीय राजनीतिको यात्रा पाल्पाबाटै सुरु गरेका थिए। २०४२ सालमा कांग्रेसको सत्याग्रह चलिरहँदा पौडेल पाल्पामा संगठन विस्तारमा सक्रिय थिए। ०४८ सालको चुनावताका पनि उनी बढी पाल्पामै खटिएका थिए। त्यो बेला उनले टिकट पाएनन्। पछि ०५१ सालको मध्यावधि चुनावमा टिकट पाएर उनी निर्वाचित भए। त्यो बेला उनले साबिकको पाल्पा- ३ बाट कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरेका थिए।

त्यसपछि उनी निर्वाचन क्षेत्र बदलेर रुपन्देही आए। २०५६ सालको संसदीय निर्वाचनमा रुपन्देही- ३ बाट निर्वाचन लडेका उनी कांग्रेस नेता स्व. सूर्यप्रसाद प्रधानसँग पराजित भए। २०६४ सालमा पहिलो संविधानसभामा निर्वाचित भए। २०७० मा दोस्रो संविधानसभाबाट संविधान बनेपछि रूपान्तरित प्रतिनिधिसभा सदस्य भए। २०७४, २०७९ सालमा प्रतिनिधिसभाबाटै पौडेल यही क्षेत्रबाट निर्वाचित भए।

पाल्पाको क्षेत्र कस्तो हो ?

दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता छन्। गएको आम निर्वाचनमा पाल्पा- २ बाट एमालेका ठाकुर गैरे विजयी भएका थिए। गैरेले तत्कालीन एकिकृत समाजवादी, माओवादी र कांग्रेसको गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई पराजित गरेका थिए। 

गैरेले २८ हजार ६ सय ४५ मत प्राप्त गरी विजयी हुँदा पाण्डेयले २४ हजार ८ सय ९९ मत प्राप्त गरेका थिए। पाल्पामा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा खासै देखिन्न। २०४८ सालमा साबिकका तीन वटा सिट काँग्रेसले जितेको थियो। त्यस्तै ०५१ र २०५६ सालमा एमालेले तीन वटै क्षेत्रमा विजयी भएको थियो।

१० बर्षे द्वन्द्व छाडेर माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पाल्पामा पनि त्यसको प्रभाव देखियो। २०६४ सालको पहिलो संविधान सभामा क्षेत्र नम्बर २ तत्कालीन माओवादीले जित्दा १ र ३ एमालेले जित्यो। २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा १ र २ एमालेले जित्दा ३ मा कांग्रेसले जित्यो।

सङ्घीयता आएपछि पाल्पामा २ वटा निर्वाचन क्षेत्र कायम भए। त्यसपछि भएका २०७४ र २०७९ को निर्वाचनमा पाल्पाका दुवै सिटमा एमाले नै विजयी बन्यो। 

पाल्पा-२ मा रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिकाको वडा नं. १, तिनाउ गाउँपालिकाको १-४ र ६ र तानसेन नगरपालिकाको १-७ र ९-१४ वडा समेटिएको छ।

राजनीतिक यात्रा

स्याङ्जा पुतलीबजार नगरपालिका- १० राङखोलाका पौडेल २०३३ सालमा रुपन्देही झरेका हुन्। त्यसपछि भूमिगत राजनीतिमा सक्रिय भएर ०३३ सालमा अल नेपाल कम्युनिस्ट रिभोलुसनरी कोअर्डिनेसन कमिटी मास्क-लेनिन स्थापनामा पौडेल सक्रिय भए।

२०४७ सालमा एमाले गठन हुँदै उनी केन्द्रीय सदस्य बने। २०५४ केन्द्रीय सचिव बनेका उनी २०५५ देखि २०६० सम्म एमाले केन्द्रीय कार्यालय सचिव भए। २०६५ सालमा एमाले पश्चिम विकास क्षेत्रको प्रमुख भए।

२०६५ सालको आठौं महाधिवेशनबाट सचिव बनेका पौडेल २०६७ देखि २०६९ सम्म केन्द्रीय सचिवालय सदस्य भए। २०७१ मा नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव, २०७४ सालको चुनावपछि तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएको नेकपामा पनि उनी उपमहासचिव बने। १० औ र ११ औँ महाधिवेशनबाट उनी उपाध्यक्ष बने।

पटक पटक मन्त्री र विवाद

पौडेलको राजनीतिक यात्रा जती लामो छ विवाद पनि उस्तै छ। पौडेल पहिलोपल्ट २०५३ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए। त्यसपछि उनी २०६५ सालमा माधवकुमार नेपालको सरकार पालामा जलस्रोत मन्त्री नियुक्त भए। २०६७ सालमा रक्षा मन्त्री बनेका पौडेल २०७२ सालमा संविधान जारी भएपछि बनेको केपी ओलीको सरकारका पालामा  पहिलो पटक अर्थमन्त्री बने।

दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ, चौथो पटक २०७९ पुस र २०८१ असारमा पाँचौं पटक अर्थमन्त्री भएका थिए। उनी अर्थमन्त्री रहँदा नै जेनजी आन्दोलन भएर अपदस्थ भए।

राजनीतिमा विष्णु पटक पटक विवादमा पर्ने गरेका छन्। सबैभन्दा गम्भीर विवाद बालुवाटारको सरकारकी जग्गा नै हो। सरकारी जग्गामध्ये ८ आना उनको छोराको नाममा रहेको सार्वजनिक भएपछि सरकारी जग्गा ब्यक्तीकोमा ल्याउन सघाए बापत पाएको भनेर आलोचना भयो।

जग्गा फिर्ताको बहानामा उनको छोरा प्रतिवादी बन्नबाट जोगिएपछि सत्ता शक्तिको बलमा उन्मुक्ति पाएको भन्दै उनको आलोचना हुने गरेको छ।

माघ ४, २०८२ आइतबार १४:३३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।