पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं : आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।

थाइल्यान्डको जितमा नात्थाकन चन्थमले अविजित अर्धशतकीय पारी खेलिन्। उनले ३९ बलमा ९ चौका र १ छक्काको मद्दतले ५७ रन जोडिन्। यस्तै, नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसरा सुवान्चोरथीले २८ रनको योगदान दिए। नेपालका लागि दुवै विकेट स्पिनर सीता रानामगरले लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक ४४ र सम्झना खड्काले २६ रन बनाए। पहिलो विकेटका लागि ५ दशमलव ४ ओभरमा ५२ रनको बलियो साझेदारी भए तापनि मध्यक्रमका अन्य ब्याटरहरूले त्यसलाई निरन्तरता दिन सकेनन्।

नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले १७ र उपकप्तान पूजा महतोले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ थाइल्यान्डकी थिपाच्चा पुथावाङले घातक बलिङ गर्दै ४ विकेट लिइन् भने ओनिचा कामचोम्फुले २ विकेट हात पारिन्।

१० टोली सहभागी यस प्रतियोगिताको समूह 'बी' मा रहेको नेपालले अब आगामी बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू 'सुपर सिक्स' चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष चारमा रहने टोलीहरू सन् २०२६ मा इङ्गल्यान्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ।

माघ ४, २०८२ आइतबार १२:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।