विगत सम्झिँदै कंगना भन्छिन्- सफलता विष बन्यो

विगत सम्झिँदै कंगना भन्छिन्- सफलता विष बन्यो

काठमाडौं : सन् २०२६ को सुरुवातसँगै बलिउडमा एउटा फरक अनि रोचक लहर चलेको छ, यहाँ एक दशकअघिको आफ्नो अवस्था र तस्बिरहरूलाई सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। अर्थात सन् २०२६ मा २०१६ का यादहरू ताजा गरिरहेका छन्। यो ट्रेन्डमा धेरै बलिउडका चर्चित कलाकारहरू सामेल भइरहेका छन्।

यसैक्रममा अभिनेत्री एवं सांसद कंगना रनौतले पनि सन् २०१६ का पुराना यादहरू ताजा गरिन्। साथमा उनले केही नमिठा अनुभवहरूको पनि चर्चा गरेकी छन्। उनले शनिबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा पोस्ट साझा गरिन्। सन् २०१६ का तस्बिरहरू सेयर गर्दै उनले लेखेकी छिन्, "भगवानलाई धन्यवाद, यो २०२६ हो।" 

उनले १० वर्षपछि जीवन यति शान्त र सुखद हुनेछ भन्ने पहिले नै थाहा भएको भए, आफू त्यतिबेला त्यति धेरै दुखी नहुने उल्लेख गरेकी छन्। कंगनाले तस्बिरहरूसँगै लेखेकी छन्, "अचानक सबैलाई २०१६ को याद किन आउन थाल्यो ? त्यो वर्ष मेरो करियरको एउटा महत्त्वपूर्ण मोड थियो। 'क्वीन' र 'तनु वेड्स मनु रिटर्न्स' जस्ता लगातार ब्लकबस्टर फिल्महरूपछि म सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी थिएँ। तर, फेरि २०१६ को जनवरीमा मेरो एक सहकर्मीले मलाई त्यो विवादित 'लीगल नोटिस' (कानुनी पत्र) पठाए, जसले उद्योगलाई नै हल्लाइदियो र फिल्म क्षेत्रलाई 'इनसाइडर्स' (भित्रिया) र 'आउटसाइडर्स' (बाहिरिया) मा विभाजित गरिदियो।"

कंगनाले अगाडि लेखेकी छन्, "सफलता विष बन्यो र जीवन नर्कजस्तै भयो। मानिसहरूले पक्ष लिए र अरू धेरै कानुनी लडाइँहरू भए। यदि १० वर्ष पहिले मलाई यो थाहा हुन्थ्यो कि सन् २०२६ मा म आफ्नो हरेक खानामा 'कार्ब्स' खानेछु, धेरै हाँस्नेछु र २०१६ को त्यो सबै ड्रामा केही वर्षपछि कसैका लागि कुनै अर्थ राख्ने छैन, भने साँचो भन्नुपर्दा म त्यतिबेला यति धेरै दुखी हुने थिइनँ। भगवानलाई धन्यवाद छ कि यो २०१६ होइन र हामी २०२६ मा छौं।"

कंगनाले जुन लीगल नोटिसको कुरा गरेकी छन्, त्यो अभिनेता ऋतिक रोशनले पठाएका थिए। त्यसबेला यी दुईबीच कानुनी नोटिस र आरोप-प्रत्यारोपको लामो युद्ध चलेको थियो।

माघ ३, २०८२ शनिबार १७:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।