अप्राकृतिक र सत्ता केन्द्रित सम्झौता नगर्ने कांग्रेसको निर्णय

अप्राकृतिक र सत्ता केन्द्रित सम्झौता नगर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले अब कुनै पनि प्रकारको 'अप्राकृतिक गठबन्धन' वा सत्ता केन्द्रित राजनीतिक सम्झौता नगर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शनिबार काठमाडौंको नयाँ बानेश्वरमा बसेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस आफ्ना मौलिक मूल्य र सिद्धान्तमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरे।

चालिसेले भने, "नेपाली कांग्रेस पार्टी आफ्नो अटल प्रतिबद्धतालाई पुनः दोहोर्याउन चाहन्छ कि अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ता केन्द्रित सम्झौता हामी गर्नेवाला छैनौं। हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौं। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौं।"

कांग्रेसले वर्तमान संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने संकल्प समेत गरेको छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र युवा पुस्ता (जेनजी) को आन्दोलनबाट मुखरित भएका जनआकांक्षालाई पार्टीले आत्मसात् गर्ने प्रवक्ता चालिसेले बताए।

उनले थपे, "नवयुवाको आकांक्षा, विशेष गरेर नयाँ जेनजीको आन्दोलन पछिको नवयुवाको जुन आकांक्षा छ, त्यो आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षालाई साकार पार्न यो बैठकले दृढतापूर्वक आफ्नो दृढता व्यक्त गरेको छ।" बैठकले पार्टीको आगामी राजनीतिक मार्गचित्र र आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्नेगरि आफ्नो अडान अघि सारेको छ।

माघ ३, २०८२ शनिबार १६:००:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।