कांग्रेसमा अब कोही 'काखा' कोही 'पाखा' हुने छैनन् : महामन्त्री पौडेल
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आन्तरिक एकता र सुदृढीकरणले मात्रै मुलुकको समग्र रूपान्तरण सम्भव हुने बताए।
पार्टीभित्र सबै पक्षलाई समेटेर र अवसरहरूको न्यायोचित वितरण गरेर कांग्रेसलाई जनअपेक्षा अनुरूपको बनाउने उनले प्रतिबद्धता जनाए। पौडेलले पार्टीभित्रका पुराना र नयाँ पुस्ताबीच समन्वय गर्दै देशभरका कार्यकर्ताहरूमा उत्साह भरिने दाबी गरे।
उनले भने, "नेपाली कांग्रेसको एकता बलियो बनाउने, सबै अग्रजहरूलाई सम्मान गर्ने, देशभरिका साथीहरूलाई समेटिने गरी निर्णय गर्ने, अवसरहरू प्रदान गर्ने, नेपाली कांग्रेसको एकताले मात्रै नेपालको रूपान्तरण हुन सक्छ, नेपालमा परिवर्तन हुन सक्छ। नेपाली कांग्रेस यस्तो बनिदियोस् भनेर जुन अपेक्षा गर्नुभएको छ, त्यस्तो कांग्रेस बनाउने गरी हामीले कांग्रेसमा सबैलाई समेटेर अगाडि बढ्छौं।"
पार्टी सञ्चालनका क्रममा विगतमा देखिएका कमजोरी र असन्तुष्टिहरूलाई सम्बोधन गरिने पौडेलले स्पष्ट पारे। उनले पार्टी विधान र विधिभन्दा बाहिर कोही पनि जान नसक्ने उल्लेख गर्दै आन्तरिक छलफलबाटै सहमति खोजिने बताए। नेतृत्वले अबका दिनमा कुनै पनि कार्यकर्ताले काखा र पाखाको महसुस गर्न नपर्ने गरी 'उदार' कार्यशैली अपनाउने उनको भनाई छ।
पौडेलले थपे, "विधि प्रक्रियाले निर्धारण गर्ने कुरामा कसैले प्रश्न गर्ने कुरा स्वाभाविक भएन। अरू चाहिँ व्यवहारगत पक्षबाट मिलाउने कुरा, अवसरहरू प्रदान गर्ने कुरा, सबैलाई समेटेर चाहिँ कसैलाई बाहिर बस्न नदिएर अगाडि लाने कुरामा चाहिँ हामीहरू एकदमै उदारतापूर्वक काम गर्नेछौं। मुख्यगरी व्यवहार अनुदार भयो भन्ने विगतको जुन खालको गुनासो थियो, त्यो चाहिँ नहुने स्थिति हामी बनाउँछौं।"
माघ ३, २०८२ शनिबार १५:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।