टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ, कप्तान रोहित भन्छन्- ‘देशलाई गर्व महसुस गराउनेछौँ’
काठमाडौं : आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय टोलीको शनिबार औपचारिक बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी विश्वकप यात्रामा निस्कन लागेको टोलीलाई शुभकामनासहित बिदाइ गरेको हो। नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ।
विश्वकपको मूल प्रतियोगिता सुरु हुनुअघि नेपाली टोलीले भारत र श्रीलंकामा ‘वार्म-अप’ तथा अभ्यास खेलहरू खेल्नेछ। क्यानका अनुसार टोलीले श्रीलंकामा ‘श्रीलंका ए’ र भारतमा मुम्बईको ‘एमसीए प्रेसिडेन्ट ११’ सँग अभ्यास शृंखला खेल्ने तालिका तय भएको छ।
‘तयारी राम्रो छ, नतिजा राम्रो आउँछ’
बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले विश्वकपको तयारी राम्रो भएको प्रतिक्रिया दिए।
उनले भने, ‘अभ्यासले टिमको बिल्डअप राम्रो भएको छ। सन् २०२५ हाम्रो लागि एकदम राम्रो रह्यो, आशा छ यो वर्ष पनि सुखद हुनेछ। हामी समग्र नेपालीलाई गर्व महसुस गराउने छौँ।’
टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि अभ्यास खेलमार्फत योजनालाई अन्तिम रूप दिने बताए। उनले विश्वकपमा राम्रो प्रदर्शन गरेर नेपाली समर्थकलाई खुसी दिने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारतको ‘कन्डिसन’ नेपालसँग मिल्दोजुल्दो भएकाले टोलीको प्रदर्शन राम्रो हुने विश्वास व्यक्त गरे।
यस्तै, क्यान सचिव पारस खड्काले नेपाली क्रिकेटलाई अहिले विश्वले हेरिरहेको भन्दै खेलाडी र व्यवस्थापनलाई शुभकामना दिए।
‘हामीले राम्रो गरिरहेका छौँ। भारतमा गएर समर्थकहरूले पनि साथ दिनुहुन्छ भन्ने आशा छ’, खड्काले भने।
टी-२० विश्वकपको समूह चरणमा नेपालले बलिया राष्ट्रहरूको सामना गर्नेछ। नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्।
माघ ३, २०८२ शनिबार ११:४०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।