ईशानको शव एक महिनादेखि अस्पतालमै : परिवार भन्छ- ‘हत्यारा लुकाइयो’, प्रहरी भन्छ- ‘दुर्घटना हो’
बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय किशोर ईशान शर्मा पौडेलको रहस्यमय मृत्यु भएको शनिबार ठ्याक्कै एक महिना पूरा भएको छ।
तर, एक महिना बितिसक्दा पनि उनको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमै अलपत्र छ।
घटनाको प्रकृति र प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ईशानको मृत्यु सवारी दुर्घटना (हिट एण्ड रन) बाट भएको निष्कर्ष निकालेको छ।
तर, परिवारजन भने यो सामान्य दुर्घटना नभई सुनियोजित ‘हत्या’ भएको दाबी गर्दै प्रहरीको अनुसन्धान मान्न तयार छैनन्।
यही असमझदारी र विवादका कारण एक महिनादेखि ईशानको अन्त्येष्टि हुन सकेको छैन।
घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै परिवार, आफन्त र छिमेकीहरू निरन्तर आन्दोलित छन्। न्यायको माग गर्दै उनीहरूले शनिबार बिहान १० बजे पूर्व-पश्चिम महेन्द्र राजमार्गको फायरलाइन चोकमा चक्काजाम समेत गरेका छन्।
के थियो घटना ?
घटना गत पुस महिनाको हो। पुस २ गते साँझ सधैँ झैँ विद्यालयमा तेक्वान्दो सिकाएर ईशान घर फर्किएका थिए। साँझ साढे ५ बजेतिर ‘साथीसँग जिम जाने’ भन्दै घरबाट निस्किएका उनी थकाली चोकतिर लागे।
सिसिटिभी फुटेजमा देखिए अनुसार, साँझ ७ बजेर ४२ मिनेट जाँदा उनी रुद्रपुरकै सुनगाभा चोकबाट साथीसँग बिदा भए। त्यसपछि हातमा जुत्ता बोकेर सडकको तेस्रो लेन हुँदै घरतर्फ लम्किएका उनी त्यसपछि कहिल्यै घर फर्किएनन्।
त्यस रात ईशान घर नआउँदा परिवारले साथीकै घरमा बास बस्यो होला भन्ने अनुमान गरे। तर, भोलिपल्ट उनी विद्यालय पनि नआएको खबर पाएपछि परिवार आत्तिएर खोजीमा जुट्यो।
खोजी गर्ने क्रममा सोही साँझ करिब ७ बजेतिर घर नजिकैको नालीको ढकनीमाथि ईशानको जुत्ता फेला पर्यो। शङ्का लागेर स्थानीयले नालीको ढकनी उघारेर हेर्दा ईशान मृत अवस्थामा भेटिएका थिए।
‘नालीभित्र शव कसरी पुग्यो ?’ : परिवारको प्रश्न
ईशानका बुवा अर्जुन शर्मा र परिवारजनको मुख्य असन्तुष्टि नै शव भेटिएको स्थान र प्रकृतिलाई लिएर छ।
प्रहरीले सवारी साधनको ठक्करबाट मृत्यु भएको बताए पनि बन्द नालीभित्र शव कसरी पुग्यो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ नपाएसम्म शव नउठाउने अडानमा बुवा अर्जुन छन्।
‘ईशानको शव नालीभित्र कसरी गयो भन्ने कुरालाई प्रहरीले जस्टिफाई गर्न सकेको छैन,’ बुवा अर्जुन भन्छन्, ‘ठक्कर खाएर मान्छे उछिट्टिन सक्छ, तर आफैँ गएर नालीमा पस्न वा ढकनी बन्द हुन सक्दैन। प्रहरीले ‘यसो हुन सक्छ’ भनेर अनुमानका भरमा दिएको स्पष्टीकरण हामीलाई स्वीकार्य छैन।’
उनले प्रहरीले वास्तविक दोषीलाई जोगाउन नक्कली चालक खडा गरेको गम्भीर आरोप समेत लगाएका छन्।
‘यो केसलाई अन्यत्र मोड्न खोजियो, यो दुर्घटना नभई हत्या नै हो’, उनले भने।
ईशानका ठूलो बुवा पुष्पराज शर्मा पनि घटनास्थलको प्रकृति हेर्दा सामान्य दुर्घटना मान्न नसकिने बताउँछन्।
‘न त सडकमा ब्रेक लागेको कुनै डोब स्किड मार्क थियो, न त कतै धुलो नै माडिएको देखिन्थ्यो,’ उनले तर्क गरे, ‘खुट्टामा हुनुपर्ने जुत्ता एउटा छुट्टै ठाउँमा र हातमा बोकेको जुत्ता अर्को ठाउँमा भेटिनु आफैँमा शंकास्पद छ।’
उनले टाउको र आँखामा देखिएको गहिरो चोटका कारण यो सुनियोजित हत्या भएको दाबी गरे।
आमा रमा शर्माको आँसु अझै ओभिएको छैन।
‘बुढेसकालको सहारा, मेरो टेक्ने लठ्ठी नै भाँचियो,’ भावविह्वल हुँदै उनले भनिन्, ‘मेरो छोराको हत्या भएको हो। मेरा जस्तै हजारौँ ईशानहरूले न्याय पाउनुपर्छ भनेर हामी यो लडाइँ लडिरहेका छौँ।’
प्रहरीको दाबी: ‘अनुसन्धान पारदर्शी छ, चालकले स्वीकारिसके’
यता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने घटनाको गहिरो अनुसन्धानपछि यो दुर्घटना नै भएको निष्कर्ष निकालेको छ।
प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले घटनामा संलग्न सवारी साधन र चालक पत्ता लागिसकेको बताए।
प्रहरी अनुसन्धान अनुसार, ईशानलाई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिएको हो। डिएसपी कार्कीका अनुसार चालकले कसुर स्वीकार गरिसकेका छन्।
‘हामीले घटनास्थलको प्रकृति, चालकको बयान, सवारी साधनमा भएको क्षति र नजिकैका सिसिटिभी फुटेजका आधारमा सुक्ष्म अनुसन्धान गरेका छौँ, जसले दुर्घटना नै पुष्टि गर्छ,’ डिएसपी कार्कीले भने, ‘यस्तो अवस्थामा ‘मैले मान्छे मारेको हुँ’ भनेर कोही पनि निर्दोष व्यक्ति जेल बस्न आउँदैन। राज्यको संयन्त्रले गरेको अनुसन्धानलाई परिवारले विश्वास गर्नुपर्छ।’
परिवारले शङ्का गरेको आँखाको चोटबारे पनि प्रहरीले स्पष्टीकरण दिएको छ।
डिएसपी कार्कीले भने, ‘पोष्टमार्टम रिपोर्टमा आँखामा गहिरो चोट नभई, मृत्युपछि केही किराले खाएको उल्लेख छ। कानबाट रगत बगेको विषयमा, टाउकोमा चोट लाग्दा ब्रेनमा रगत जमेर (सिएफएस) निस्किएको हो।’
प्रहरीले अनुसन्धान सकेर शव बुझ्न आग्रह गरे पनि परिवारको अडानका कारण स्थिति जटिल बनेको छ।
‘हामीले अनुसन्धान सकेर शव जिम्मा लगाउन खोजेका छौँ, तर उहाँहरूले उठाउनुभएको छैन’, कार्कीले भने।
माघ ३, २०८२ शनिबार १०:५३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।