रविसँगै जीवी राईसहित ६३ जना सहकारी ठगीका अभियुक्तको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र सच्चिँदै

रविसँगै जीवी राईसहित ६३ जना सहकारी ठगीका अभियुक्तको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र सच्चिँदै

काठमाडौँ :  एकै अभियोग लागेकाहरूमध्ये एक जनाको मात्रै अभियोग पत्र सच्याउँदा अदालतले अस्वीकार गर्ने जोखिम देखेपछि महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका सबैको अभियोग पत्र सच्याउन स्वीकृति दिएकी छिन्।

बुधवार मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविको मात्रै अभियोग पत्र सच्याउन सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृत दिने निर्णय गरेकी थिइन्। एकै अभियोगमा एक भन्दा बढी अभियुक्त भएको अवस्थामा एक जनाको मात्रै अभियोग सच्याउन अदालतले अस्वीकार गर्ने भएपछि रविको अभियोग पत्र सच्याउन जीवी राईसहित सबै अभियुक्तको अभियोग पत्र सच्याउन सकिनेगरि उनले शुक्रवार स्वीकृति दिएकी हुन्।

अब उनको निर्णय अनुसार जिल्ला अदालत कास्कीले रविसहित जीवी राई, महेन्द्र भोटे लगायत ६३ जनामाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र सच्याउन सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन सक्ने छन्।

रविमाथि लागेको गम्भीर अभियोगको अभियोग पत्र सच्याएर सहकारी ठगी मात्र कायम राख्ने उनको निर्णय सार्वजनिक भए लगत्तै नेपाल बार एसोसिएसनसहित जेनजी फ्रन्ट र एमालेका नेताहरूले आलोचना गरिरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयले महान्यायाधिवक्ता कार्यालय नै कलङ्कित हुने काम गरेको टिप्पणी गरेका थिए। नेपाल बार एसोसिएसनले शुक्रवारै विज्ञप्तिमार्फत निर्णयको विरोध गरेको छ। सर्वोच्च अदालतमा सविताको निर्णयको विपक्षमा दुई वटा रिट पुगेको छ तर अध्ययनका लागि भनेर दर्ता भएको छैन।

माघ २, २०८२ शुक्रबार १६:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।