पार्टी आधिकारिकता विवादबारे विश्वप्रकाश भन्छन् : धम्कीसँग आयोग प्रभावित हुँदैन

पार्टी आधिकारिकता विवादबारे विश्वप्रकाश भन्छन् : धम्कीसँग आयोग प्रभावित हुँदैन

काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगमा पुगेपछि विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आयोगको कार्यालयमा पुगेर पार्टीको आधिकारिकता र विधान कार्यान्वयनको विषयमा गम्भीर ध्यानाकर्षण गराए।

शुक्रबार निर्वाचन आयोगमा प्रतिक्रिया दिँदै उनले पार्टी विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको दाबी गरे। करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको स्मरण गराउँदै उनले सोहीअनुसार आफूहरूले विधानको पालना गरी निर्वाचित भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गर्नुपर्ने माग राखे। 

दलले आफ्नो विधानको पालना नगर्नु कानुनको उल्लङ्घन नभएको उनको तर्क छ। शर्माले भने, ‘कांग्रेस विधानले केन्द्रीय समिति र केन्द्रीय कार्यसमितिको कार्यालय पनि हुन्छ भनेको छ। केन्द्रीय कार्यालय महामन्त्री मातहत रहन्छ भनेको छ। विधानअनुसार कुनै दलले आफ्नो विधान कार्यान्वयन गर्दैन भने त्यो कानुन उल्लङ्घन हुन्छ।’

बिहीबार गगन थापा पक्षले नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो भने शुक्रबार बिहान शेरबहादुर देउवा पक्षका पूर्णबहादुर खड्का लगायतले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगे। त्यस पश्चात् पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले आयोगले आफूहरूलाई पार्टीको आधिकारिकता नदिए आन्दोलनमा जाने चेतावनी दिए।

उक्त धम्कीपूर्ण भाषाप्रति टिप्पणी गर्दै शर्माले आयोग दबाबमा नपर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं। निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केही बेरअघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौं। निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वास छौं।

माघ २, २०८२ शुक्रबार १६:१२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।