मुठभेडको रणनीतिमा कांग्रेस संस्थापन, पार्टीले भन्नासाथ सडकमा आउने तयारी गर्न संयन्त्रलाई निर्देशन

मुठभेडको रणनीतिमा कांग्रेस संस्थापन, पार्टीले भन्नासाथ सडकमा आउने तयारी गर्न संयन्त्रलाई निर्देशन
तस्बिर- दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेका बेला संस्थापन पक्षले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगले मान्यता दिए देशभर आन्दोलन गर्ने चेतावनी दियो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनलाई 'अवैध' घोषणा गर्दै संस्थापन समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवासहितको पदाधिकारी र कार्यसमिति नै वैध रहेको र पार्टीको विधान, संविधान र निर्वाचन कानुनको आधार भन्दा तलमाथि गर्यो भने कांग्रेसले देशभर आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी दिए।

“हामीलाई बाध्य नपारियोस्। आयोगले त्यस्तो गर्छ भनेको हैन आशङ्का र गलत प्रचारका आधारमा यो भनिएको हो,” उनले पत्रकार सम्मेलनमा भने “फागुन २१ को निर्वाचन हाम्रो प्रथम प्राथमिकता हो। तर हामीमाथि हुने कुनै पनि अन्यायको विरुद्ध पार्टीले भने लगत्तै सडकमा आउने गरि तयारी अवस्थामा रहन भातृ सङ्गठनसहित पार्टीका सबै तहलाई निर्देशन दिन्छु।”

शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पार्टी विभाजनको रेखा कोर्ने प्रयास भइरहेको आरोप लगाउँदै उक्त भेलाको कुनै वैधानिक हैसियत नभएको र पार्टी विभाजित पनि नभएको दाबी गरे।

दायाँ-बायाँ नेताहरू शेखर कोइराला र विजयकुमार गच्छदारलाई राखेर मुर्झाएको अनुहारका साथ प्रस्तुत भएका खड्काले आक्रोशपूर्ण शैलीमा भने, "पार्टी विधानले चल्ने हो, रहरले होइन। चुनाव एक, दुई, तीन हुन्छ र कांग्रेसले बहुमत ल्याउँछ।"

विधानको व्याख्या र आयोगमा उजुरी

संस्थापन पक्षले निर्वाचन आयोगमा पुगेर नयाँ कार्यसमिति अवैध भएको दाबी गरिसकेको जानकारी दिँदै खड्काले विधानको धारा उद्धृत गरे।

"४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्छन्, तर त्यो बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र छ," उनले भने, "मागकर्ताकै चाहना बमोजिम हामीले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा बाहिर भेला गरेर कार्यसमिति चुनिनु पार्टी फुटाउने प्रपञ्च मात्र हो।"

पत्रकार सम्मेलनमा खड्काले महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाए। पुस १५ सम्म क्रियाशील सदस्यता नटुंगिएको र यसबारे महामन्त्रीले न केन्द्रीय समितिलाई न त कार्यवाहक सभापतिलाई नै जानकारी दिएको उनको दाबी छ। उल्टै, कार्यतालिका स्थगित गरेर आफूखुसी विज्ञप्ति निकालेको र वार्ताको प्रयास गर्दागर्दै समानान्तर गतिविधि गरेको संस्थापन पक्षको आरोप छ।

'झुटो आश्वासन दिएर प्रतिनिधि झुक्क्याइयो'

विशेष महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूलाई भ्रममा पारिएको भन्दै खड्काले थपे, "हामीले बारम्बार भन्यौँ-यसले पार्टी फुट्छ। तर, नेताहरूले 'पार्टी फुट्दैन, त्यस्तो भए म हलबाट पहिला निस्कन्छु' भनेर सोझा प्रतिनिधिहरूलाई झुक्क्याए।"

अहिलेको मुख्य ध्यान फागुन २१ को निर्वाचनमा हुनुपर्ने भन्दै खड्काले पार्टीका भ्रातृ संगठन र सबै तहका कार्यकर्तालाई जुनसुकै बेला सडकमा आउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिए।

पत्रकार सम्मेलनको पहिलो लहरमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइरालालगायतका प्रभावशाली नेताहरूको उपस्थिति थियो।

माघ २, २०८२ शुक्रबार १५:५८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।