आधिकारिकताको लागि आयोगमाथि दबाब बढाउँदै कांग्रेसका दुवै समूह, धर्नामा उत्रियो गगन पक्ष
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति पक्षका नेताहरूले दलको आधिकारिकता माग गर्दै शुक्रबार निर्वाचन आयोगमा धर्ना दिएका छन्।
थापा नेतृत्वको पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले कान्तिपथस्थित आयोगको कार्यालय अगाडि पलेँटी कसेर धर्ना दिएका हुन्। पार्टीको आधिकारिकता प्रदान गर्न र केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न दबाब दिने उद्देश्यले उनीहरूले धर्ना दिइरहेका छन्।
थापा पक्षले बिहीबार नै आयोगमा केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निवेदन दर्ता गराएको थियो। कांग्रेसभित्रको आधिकारिकता विवाद शुक्रबार स्पष्ट रूपमा देखियो।
थापा पक्ष धर्नामा बस्नुअघि शुक्रबारै संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व)का तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरू आयोग पुगेका थिए। उनीहरूले देउवा नेतृत्वको वर्तमान कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिए।
आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिइरहेको छ। दुवै पक्षको दाबी र निवेदन परेपछि आयोगले अध्ययन गरिरहेको छ।
माघ २, २०८२ शुक्रबार १५:५१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।