पार्टीको आधिकारिकता नपाए प्रतिकारमा उत्रिने खड्काको चेतावनी, भने- आन्दोलनमा जान बाध्य नपारियोस्

पार्टीको आधिकारिकता नपाए प्रतिकारमा उत्रिने खड्काको चेतावनी, भने- आन्दोलनमा जान बाध्य नपारियोस्

काठमाडौं : नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष)का कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान विपरीत निर्वाचन आयोगले निर्णय गरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिए।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले पार्टीको आधिकारिकताका सम्बन्धमा आयोगमाथि दबाब बढाउने उद्देश्यले उक्त चेतावनी दिए।

कांग्रेसको विधान महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमित र विशेष महाधिवेशन अवैधानिक भनेर बहिस्कार गरेको दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिकताको लागि निवेदन दिएका छन्। निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे अध्ययन गरिरहेको छ। यस्तो बेला खड्काले दिएको अभिव्यक्तिमा आयोगमाथि दबाब बढाउने मनसाय रहेको देखिन्छ। 

पत्रकार सम्मेलनमा खड्काले भने, "षड्यन्त्र र दबाबमा परेर आयोगले काँग्रेसको विधान विपरीत निर्णय गरे देशभर आन्दोलन गर्नुको विकल्प छैन। हामी वडा तहसम्मै आन्दोलन गर्छौं।" आफूहरूको निर्वाचन आयोगमा विश्वास रहेको बताउँदै उनले बाहिर भइरहेका चर्चाले आशंका उब्जाएको टिप्पणी गरे। 

"निर्वाचन आयोगले तलमाथि भएर, षडयन्त्रमा परेर अन्यथा निर्णय गर्यो भने आन्दोलन गर्नु बाहेक विकल्प हुनेछैन," उनले चेतावनी शैलीमा अगाडि थपे, "आन्दोलनमा जान हामीलाई बाध्य नपारियोस् र गलत तरिकाले निर्णय नगरियोस्।"

खड्काले आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागेको तर गलत निर्णय भए निर्वाचन छाडेर आन्दोलनमा उत्रिने बताए। उनले भने, "हामी जिम्मेवार छौं। निर्वाचनलाई प्रथम महत्त्व दिएर सबै पार्टीसँग संवाद अघि बढाइरहेका छौं।" उनले कुनै पनि षडयन्त्र, गलत निर्णय भएमा त्यसका विरुद्ध आन्दोलनका लागि तत्मतयार भएर रहन कार्यकर्ताहरूलाई निर्देशन दिए। 

माघ २, २०८२ शुक्रबार १५:२५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।