बंगलादेशका क्रिकेटरहरूद्वारा बहिष्कार फिर्ता, बीपीएल आजदेखि सुचारु हुँदै

बंगलादेशका क्रिकेटरहरूद्वारा बहिष्कार फिर्ता, बीपीएल आजदेखि सुचारु हुँदै

एजेन्सी : क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेशले गएराति बंगलादेश क्रिकेट बोर्डका अधिकारीहरूसँगको वार्तापछि आफ्नो बहिष्कार फिर्ता लिएको छ।

खेलाडी र बोर्डबीचको विवादका कारण एक दिन रोकिएको बंगलादेश प्रिमियर लिग आजदेखि पुनः सञ्चालन हुने भएको छ।

‘क्रिकेटको बृहत्तर हितलाई ध्यानमा राख्दै हामी भोलिदेखि खेल्न सुरु गर्नेछौँ,’ एसोसिएसनका अध्यक्ष मोहम्मद मिथुनले बिहीबार राति आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिए।

बुधबार बीसीबीका निर्देशक एम नजमुल इस्लामले खेलाडीहरूप्रति लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी पुरुष टी-२० विश्वकपमा बंगलादेश सहभागी नभए खेलाडीहरूले कुनै क्षतिपूर्ति नपाउने बताएका थिए।

साथै, विगतमा खराब प्रदर्शन गर्दा बोर्डले खेलाडीबाट कहिल्यै रकम फिर्ता नमागेको भन्ने उनको तर्कले खेलाडीहरूलाई आक्रोशित बनाएको थियो।

यसकै विरोधमा खेलाडीहरूले बिहीबार हुने तय भएका बीपीएलका खेलहरू बहिष्कार गरेका थिए र निर्देशक नजमुललाई पदबाट नहटाएसम्म र सार्वजनिक माफी नमागेसम्म क्रिकेट नखेल्ने चेतावनी दिएका थिए।

बोर्डले खेलाडीहरूको माग सम्बोधन गर्दै निर्देशक नजमुललाई फाइनान्स कमिटीबाट हटाइसकेको छ।

बीसीबीका निर्देशक इफ्तेखार रहमान मिथुले भने, ‘उहाँलाई कारण देखाउ आदेश जारी गरिएको छ। ४८ घण्टाभित्र जवाफ दिन भनिएको छ, जुन १७ तारिख दिउँसो सकिन्छ। त्यसपछि अनुशासन समितिले संविधानबमोजिम थप प्रक्रिया अगाडि बढाउनेछ।’

बोर्डले खेलाडीहरूलाई निर्देशकमाथि कारबाही प्रक्रिया जारी राख्ने आश्वासन दिएपछि खेलाडीहरू खेलमा फर्कन राजी भएका हुन्।

एक दिन खेल अवरुद्ध भएपछि बीसीबीले बीपीएलको बाँकी खेल तालिकामा संशोधन गरेको छ। बिहीबार हुने भनिएका खेलहरू आज शुक्रबार हुनेछन्। त्यस्तै, जनवरी १६ र १७ का खेलहरू एक दिन पछाडि सारिएको छ भने एलिमिनेटर र क्वालिफायर १ खेलहरू अब जनवरी २० मा हुनेछन्।

माघ २, २०८२ शुक्रबार ०९:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।