मतपत्रमा हस्ताक्षरदेखि मतपेटिका शिलबन्दीसम्म : यी हुन् मतदान अधिकृतका मुख्य काम

मतपत्रमा हस्ताक्षरदेखि मतपेटिका शिलबन्दीसम्म : यी हुन् मतदान अधिकृतका मुख्य काम

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारी तीव्र पारिएको छ।

निर्वाचनको दिन मतदाताहरू मतदान केन्द्रमा पुग्दा जुन व्यवस्थित र सुरक्षित वातावरण देख्छन्, त्यसको मुख्य श्रेय र जिम्मेवारी मतदान अधिकृतको काँधमा हुन्छ।

निर्वाचन आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृत नै मतदान केन्द्रको प्रमुख व्यवस्थापक हुन्। सुरक्षा, निष्पक्षता र समग्र व्यवस्थापनमा उनीहरूको भूमिका निर्णायक हुन्छ।

निर्देशिका अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि उनीहरूले निर्वाचनसम्बन्धी तालिम अनिवार्य रूपमा लिनुपर्छ।

तालिमपश्चात् मतपेटिका, मतपत्र, मतदाता नामावली, स्वस्तिक छापलगायतका संवेदनशील सामग्रीहरू रुजु गरी बुझिलिने जिम्मेवारी अधिकृतको हुन्छ।

आफू खटिएको केन्द्रमा पुगेर सहायक मतदान अधिकृत, कर्मचारी, स्वयंसेवक तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, तोकिएको समयमै मतदान केन्द्र निर्माण गर्ने र मतदाता परिचयपत्र वितरणको व्यवस्था मिलाउने काम पनि मतदान अधिकृतले नै गर्नुपर्छ।

मतदान प्रक्रिया सुरु भएपछि यसको वैधता र विश्वसनीयता कायम राख्न अधिकृतको भूमिका महत्त्वपूर्ण हुन्छ। मतदातालाई मतपत्र दिनुअघि त्यसमा हस्ताक्षर गर्ने र मतदान प्रक्रिया शान्त, व्यवस्थित एवं निष्पक्ष ढंगले सञ्चालन भइरहेको सुनिश्चित गर्ने दायित्व उनकै हो।

निर्देशिकामा उल्लेख भएबमोजिम, मतदानको अवस्थाबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्छ। साथै, मतदान केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता तथा घुम्ती टोलीलाई आवश्यक सूचना दिने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनु अधिकृतको कर्तव्य हो।

मतदान सम्पन्न भइसकेपछि पनि अधिकृतको काम सकिँदैन। मतपेटिकालाई सुरक्षित तवरले शिलबन्दी गर्ने, मुचुल्का तयार पार्ने र सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्छ।

निर्वाचन आयोगका अनुसार, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु नै मतदान अधिकृतको प्रमुख कर्तव्य हो।

माघ २, २०८२ शुक्रबार ०८:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।