७६ वर्षीया तुलसादेवीको 'हिजोका कुरा' : सुत्केरी व्यथामा ३ भारी दाउरा बोकेँ, काखका तिम्ल्याहा छोरी एकैपटक गुमाएँ

७६ वर्षीया तुलसादेवीको 'हिजोका कुरा' : सुत्केरी व्यथामा ३ भारी दाउरा बोकेँ, काखका तिम्ल्याहा छोरी एकैपटक गुमाएँ

काठमाडौं : उमेरले ७६ वर्षको लागिन्, तुलसादेवी काफ्ले। उनी वर्ष दिनको हुँदा बुबा बिते, आमाले हुर्काइन्। उनी १२ वर्षको उमेर पुग्दै थियो। आमाले स्कुल पढाउन मानिन्। त्यो समयको संस्कार अनुसार अन्ततः उनलाई बिहे गरेर दुलाहाको घरमा पठाइयो। 

बिहे भएको चार वर्षमा पहिलो सन्तान जन्माइन्। सासूको खटन, अरूको बचन त्यस्तै थियो। उनी त्यो बेलाको कुनै कुरा सम्झन चाहन्नन्। यद्यपि केही कुराहरू खोतल्न थाल्छिन्। बिहे भएको चार वर्षमा अर्थात् उनी १६ वर्षको उमेरमा पहिलो सन्तान जन्माइन्। पहिलो सन्तानको राम्ररी मुख हेर्न नपाउँदै अस्तायो। त्यसको एक वर्षपछि एकै पटक तिम्ल्याहा छोरी जन्मिए। 

६ दिन व्यथा सहेर पाएका तीन वटै छोरी बाँचेनन्। व्यथा लाग्यो भने घरमा बस्न पाइँदैन थियो। ११ जनामा ७ सन्तान गुमाउँदाको पीडाले उनी हिजोका कुरा सम्झिन नचाहने हुन्। उनी पहिलोको दुख बिर्सेर यति बेला छोरा बुहारीसँग रमाइलो मानिरहेकी छन्। उनले जीवनमा भोगेका देखेका र अनुभवलाई उकेराको कोलम हिजोको कुराकानीमा यसरी सुनाइन्:

बर्खीको हुँदा बुबा बित्नुभयो, आमाले स्कुल पठाउनु भएन

मेरो जन्म तनहुँको कलेस्ति भन्ने गाउँमा वि.स.२००६ सालमा भएको हो। म घरको एउटै छोरी हुँ। म बर्सीको हुँदा मेरो बुबा बित्नु भएको छ। आमाले नै हुर्काई बढाई गर्नुभयो।

मैले थाहा पाउँदा मान्छेका छोरीहरू स्कुल पढ्न जान्थेँ। तर मेरी आमाले छोरी मान्छेले पढेर के हुन्छ र भनेर स्कुल पठाउनु भएन। आमाले नै स्कुल नपठाएपछि के पढ्न पाउनु र ? त्यति बेला घाँस काट्ने, दाउरा बोक्ने, मल बोकेर हिँड्ने मान्छेले के'को पढ्न जानु र? आमाले पढ्नु पर्दैन भन्नुभयो, होला त नि भनियो। स्कुल गइएन, ढुङ्गामाटा खेल्दै बसियो।

अहिलेको जस्तो पढ्न पाएर घर जान पाको भए त हुन्थ्यो जस्तो लाग्छ नि; के गर्नु अब बुढेसकालमा। त्यो बेलामा खाल्टे खन्ने, किर्रा खेल्ने भन्थेँ। बुढेसकालमा मैले प्रोड शिक्षा पढेर आफ्नो नामसम्म लेख्न जान्ने भए।

१२ वर्षमा विवाह, १७ वर्षको उमेरमा तिम्ल्याहा छोरी

मेरो १२ वर्षको उमेरमा बिहे भयो। अरूका त श्रीमानलाई वर्षौं वर्षसम्म अनुहार नहेरेको कुरा गर्छन्। मैले त बिहेको भोली पल्ट नै देखे। त्यो समयमा केटा हेर्ने, केटी हेर्ने चलन नै थिएन। हेराहेर गर्ने त कुरै छैन। यसो साइडमा लगेर मैले देखेको छु केटी, त्यति भए भयो भनेर कुरा गर्थे। त्यतिकै भरमा बिहे हुन्थ्यो। के को केटी हेर्नु, के को केटा हेर्नु। जसलाई दिए, उसैको पछिपछि हिँड्ने।

मेरो बिहे भएको ४ वर्षपछि पहिलो सन्तानका रूपमा छोरा पाए। म १६ वर्षकी थिए। पहिलो सन्तान अडिएन। पहिलो सन्तान खेर गएपछि फेरि एक वर्षपछि तीन वटी छोरी एकै पटक पाए। ती वटी छोरी बाँचेनन्। दुई वटी जन्मेकै दिन बिते, अर्की भोलीपल्ट। अनि २१ वर्षको उमेरमा छोरो पाए। त्यही जेठो छोरो छँदै छ। अहिलेको जस्तो हस्पिटल पनि थिएन। यी घरैमा पाको। छरछिमेककीका दिदी बहिनीले हेर्थे। सुँडेनी नै चाहिएन।

मलाई ती तीन वटी छोरी जन्माउँदा ६ दिन व्यथा लागेको थियो। त्यति बेला अहिलेको जस्तो व्यथा लाग्यो भनेर घरमा बस्न पाइँदैन थियो। पानी लिन जानुपर्थ्यो, बनमा गएर तीन भारी दाउरा खोजेको हो। नाम्लो पटुकामा बाँधेर गएको थिए, नाम्लो त कहाँ फुस्क्यो पत्तै पाइनँ। भारी हालेर नाम्लो खोज्दा त छैन। नभएपछि मझेत्रोले बाँधेर घर आइयो। त्यति बेला कति पिडा भयो होला, अहिले भन्न सकिँदैन। व्यथा लागेकै बेलामा घरमा घाँस काटेर ल्याउनुपर्थ्यो। त्यो समयमा कहाँ बस्न पाइन्थ्यो र? अघिको समय अर्कै थियो।

त्यति बेला छोराछोरी हुर्काउन पनि चर्को हुन्थ्यो। बिहानभरि घैया गोड्न गयो, दिनभरि घैया गोड्न गयो। खेतमा धान रोप्ने बेलामा, खेतैमा बास, अहिलेको जस्तो सहज थिएन।

किनमेल के हुन्थ्यो ?

त्यति बेला अहिलेको जस्तो किनेर केही खानु पर्दैन थियो। तेल कोलमा जाने, पेलेर ल्याउने भुटुन भइहाल्थ्यो। नुन किन्ने हो, त्यो पनि मैले कहिल्यै किन्नु परेन। आमाहरूको पालामा नारायणघाट कि कता जानुहुन्थ्यो। त्यति राम्रो सम्झना भएन। किनभने त्यो बेलामा पैसा बिक्दैन थियो। माइतमा आमाले पैसा दिएर पठाउनुहुन्थ्यो, त्यो पैसा मास्ने ठाउँ थिएन। गोजीको गोजी हुन्थ्यो। त्यो पैसा कहाँ गएर मास्ने ? भोक लाग्यो, केही किनेर खाउन् त भन्यो के नै हुन्थ्यो र?

त्यति बेला वर्षमा दुई जोर लुगा र नुन किन्ने हो। अरू केलाई चाहियो र पैसा। त्यतिकै हुन्थेँ। अब बिरामी भइयो भने गाउँघरमै झार फुक गर्ने, औषधि बनाउने खाने हो। कहाँ हस्पिटलमा जानु र! हस्पिटलमा जान मोटर बाटो पनि हुनुपर्यो।

त्यो बेला न चोरको डर, न मान्छेको

त्यो बेलामा कसैको पनि डर हुँदैन थियो। चोरी गर्ने भन्ने नै हुँदैन थियो। अहिले त मान्छेको डर हुन्छ। त्यो बेलामा साथीभाइ भएर हिँडिन्थ्यो। मैले थाहा पाउँदा कसैले कसैलाई बलात्कार गर्यो रे भन्ने घटना सुनिएन। त्यो समय हेरि त अहिले निकै खतरनाक लाग्छ। बनमा जाँदा नि त्यति बेला दाउरा खोज्ने, घाँस काट्ने सबै साथी हुन्थेँ।
 
वस्तु हेर्नुपर्ने हुन्थ्यो। गोठवारि गाईबस्तु हुन्थेँ। दुई वटा भैँसी दुहुना कहिल्यै छुट्दैन थिए। नजिकैको बनमा वस्तु छोडेपछि साँझमा घरैमा आउँथेँ। त्यति बेला न कसैले गाली गर्थ्यो, न कसैले केही भन्थ्यो। बनमा चरेर वस्तुहरू घर फर्किन्थेँ। त्यो  समयमा न चोरी हुन्थ्यो, नकसैले केही गर्थ्यो। एकदमै आनन्दको समय। उही अहिलेको भन्दा बढी काम गर्नुपर्थ्यो र पो!

घरको कुरा गर्ने हो भने, कहिलेकाहीँ छक्कै पर्ने चाहिँ हुन्थ्यो। त्यो बेलाको माइतको कोसेल भनेको मह, यस्तै यस्तै हुन्थेँ। माइत जाँदा आमाले छोरीलाई कोसेली भनेर मह दिनुहुन्थ्यो। माइतमा दिएको त्यो महको बट्टा बाक्सामा राख्थेँ। बाक्सैबाट मह गायब हुन्थ्यो। अब मह खाउन् त निकै दिन भो भनेर बाक्सा उघार्दा, मह जति थियो, त्यति नै पानी राखिदिएको हुन्थ्यो, मह हुन्न थियो (हाहाहाहा)। मह खाएर कति बेला कसले खाइओरी पानी राखेर बाक्सामा उस्तै बनाएर राखिदिन्थेँ, थाहै हुन्न थियो। घरमा उपद्रो भनेको यस्तो हुन्थ्यो, बाहिर त थाहा पाइनँ।
 
सासू कडा, पाहुनालाई समेत तेल घस्नुपर्थ्यो

अहिले त सासू बुहारी बराबर हुन्छन्। छोरी जसरी राख्छन्। त्यो बेला त राम राम, सासूको मात्रै हो र! कोही पाहुना आयो भने पनि सुत्ने बेलामा तेल लगाइदिनु पर्थ्यो। सुत्नै पाइँदैन थियो। पाहुनालाई तेल लगाइदिएन भने मारिहाल्थेँ नि। कस्तो हुन्थ्यो भने पाहुना आइमाई आए बुहारीले जिउमा तेल लगाइदिनु पर्थ्यो के रे, लोग्ने मान्छे आए लोग्नेले। पाहुनालाई कोपरा दिनु पर्थ्यो, बिहान भयो, चिया दिनुपर्थ्यो। सिन्का राखिदिनु पर्थ्यो, तमाखु भर्नुपर्थ्यो। मैले त कहिल्यै तमाखु भरेको थिइनँ। यता बिहे गरेर आएपछि तमाखु भर्न जान्दिन थिए, घोप्ती पार्देछु। रिसाएर गयो पाहुना। अनि श्रीमानले यसरी हो भनेर सिकाइ दिएर, यसरी पो भर्नुपर्छ भन्नुभयो। त्यो समयमा त कस्तो थियो, अहिले कस्तो भयो।

अर्को कुरा, त्यो बेला श्रीमानलाई बोलाउने चलन थिएन। खाना खाने समयमा आइहाल्नुहुन्थ्यो, आफ्नो काम गरिहाल्नुहुन्थ्यो। मैले कहिल्यै पनि बोलाइन्। नाम काढेर बोलान मिल्दैन थियो। उहाँले चाहिँ कहिलेकाहीँ ओए, केटी भनेर बोलाउनुहुन्थ्यो। ए केटी भन्नुहुन्थ्यो, त्यो भनेपछि आफूले बुझ्नुपर्थ्यो।

त्यो समयमा पार गरेर अहिलेको दिनमा आउँदा त कथा जस्तो लाग्छ। त्यो बेला के-के बेहोरियो, अहिले त कथा भयो।

७६ वर्षको उमेरमा प्लेन

धर्ती मैले कहिल्यै छोडेको थिइन। अस्ति दसैंमा धर्ती छोडियो। कान्छा छोराले काठमाडौंबाट पोखरा प्लेनमा लग्यो, खुब मजा आउँदो रहेछ, अहिले टाढासम्म पुग्न पाए नि हुन्थ्यो जस्तै भयो। काठमाडौंबाट पोखरा त सारै नजिक लाग्यो। गाडीमा हो भने दिनभरि लाग्थ्यो। प्लेनमा त चढ्ने बित्तिकै ओराल्न थाल्यो। अचम्मै भयो!

मलाई त प्लेनमा डर लागेन। सर्रै कति मजाले उडायो, केको डर लाउने हो र ? केबलकार चढ्ने, प्लेनमा चढ्ने कुरामा मलाई डर लाग्दैन। म त एकदमै तगडा देखिन्छु। उहिले रोटे पिङमा माथिबाट तल झर्दा जिउँ सिरिङ्ग हुन्थ्यो। प्लेनमा पनि एकफेरा त्यस्तै हुँदो रैछ। बाँकी त केही जस्तो लागेन।  
 

माघ १, २०८२ बिहीबार २२:०४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।