झुप्रोको सपनादेखि 'भाइरल' हुने होडसम्म : हलमा तीन नेपाली फिल्मको फरक स्वाद
काटमाडौं : माघे संक्रान्ति अर्थात् बिहीबारबाट हलमा एकसाथ तीन नेपाली फिल्म प्रदर्शन आएका छन्। मरिचमान श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’, याम शेर्पाको ‘मिरमिरे’ र निगम श्रेष्ठको ‘भाइरल गोर्खे’ हलमा प्रदर्शनमा आएका हुन्।
हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’को लेखन तथा निर्देशन गरिरहेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)को निर्देशनमा फिल्म ‘गोबर गणेश’ प्रदर्शनमा आएको छ। १४० मिनेट रनटाइम रहेको फिल्मले देशभर ११२ शो पायो। फिल्मले उठाएको विषय गाउँमा बुबाले कान्छी आमा ल्याएपछि हेला खपेको एक आमा छोराबीचको कथा हो। जसको मुख्य उद्देश्य झुपडीबाट आमालाई ढलानको घरमा राख्नु हो।
फिल्ममा निर्देशक मरिचमानकै अभिनय मुख्य रहेको छ। फिल्ममा मरिचमानसँगै, वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी लगायतको अभिनय छ। बल्छी ध्रुवे फिल्मसको प्रस्तुतिमा फिल्म निर्माण भएको हो।
त्यसैगरि, गत वर्ष ‘कार्साङ’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका यम शेर्पाको दोस्रो निर्देशित फिल्म ‘मिरमिरे’पनि प्रदर्शनमा आएको छ। जसमा बाबुछोरीको कथासँगै निर्देशक तथा लेखकले समेत त्रिकोणात्मक सम्बन्धको कथा भन्ने कोसिस गरेका छन्। कार्साङकै कलाकारलाई निरन्तरता दिँदै फिल्मको कथा निर्देशक शेर्पाले बुनेका हुन्।
फिल्म दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। १३० शो सहित प्रदर्शनमा आएको ‘मिरमिरे’मा माओत्से गुरुङ, भोलाराज सापकोटा, छुल्ठिम गुरुङ, शाइसा गौचन लगायतको पनि अभिनय रहेको छ।
त्यसैगरि पटक पटक आफ्नो प्रदर्शन मिति सारेको फिल्म ‘भाइरल गोर्खे’ पनि १०७ शोसहित प्रदर्शनमा आएको छ। प्रेमिल जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका निर्माण भएको फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका छन्। कमेडी जनरामा निर्माण भएको फिल्मले पछिल्लो नेपाली समसामयिक घटनालाई पेस गर्छ।
सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिले मान्छेलाई के कस्तो सकारात्मक र नकारात्मक असर पार्छ भन्ने कुराप्रति व्यङ्ग्य गर्छ। फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल, मिस पविलगायत कलाकारहरूले पनि अभिनय गरेका छन्।
हलमा आजबाट प्रदर्शनमा आएका यी तीन नेपाली फिल्मसँगै ‘परान’,‘एक्लो’, ‘झरीपछिको इन्द्रेणी’ पनि रहेका छन्। परानले हालै हलमा ७५ औँ दिन मनाएको छ।
माघ १, २०८२ बिहीबार १८:४४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।