चुनावी तालमेल नगर्ने एमालेको दाबी : पोखरेल भन्छन्- १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौं

चुनावी तालमेल नगर्ने एमालेको दाबी : पोखरेल भन्छन्- १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौं

देउखुरी : एमाले महासचिव शङ्कर पोखरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दलले चुनावी गठबन्धन नगर्ने दाबी गरेका छन्। दाङ प्रेस चौतारीले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार भेटमा उनले १६५ सिटमा एमालेले उम्मेदवारी दिने बताए।

तर, हाल निर्वाचनको वातावरण निर्माण भई नसकेको हुँदा सरकार त्यसतर्फ गम्भीर भएर लाग्नुपर्ने उनको सुझाव छ। पोखरले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्बाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। 

उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए। उनले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताए। लोकतन्त्र, शान्ति सुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति एमाले गम्भीर रहेको उनको भनाई छ। 

पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ।” 

माघ १, २०८२ बिहीबार १७:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।